close

आईफोन स्क्यानिङ टुलबारे गलत बुझाइ फैलिएको एप्पलको दाबी

टेकपाना टेकपाना

साउन ३१, २०७८ १७:२

आईफोन स्क्यानिङ टुलबारे गलत बुझाइ फैलिएको एप्पलको दाबी

काठमाडौं । एप्पलले आईफोन र आईप्याडमा बाल यौन दुर्व्यवहार पत्ता लगाउने स्वचालित उपकरणबारे धेरै नै गलत बुझाइ भएको बताएको छ ।

अगस्ट ५ मा कम्पनीले इमेज डिटेक्सन सफ्टवेयर ल्याउने घाेषणा गरेको थियो । तर केही सरोकारवालाहरूले एप्पलले व्यक्तिको गोपनीयता भंग गर्न खोजेको आरोप लगाउँदै यसो गर्न नहुने बताएका थिए ।

एप्पलले भने कम्पनीको घोषणालाई  सरोकारवालाहरूले गलत रुपमा बुझेको प्रतिक्रिया दिएकाे छ ।

वाल स्ट्रिट जर्नलको एक अन्तर्वार्तामा एप्पलका सफ्टवेयर प्रमुख क्रेग फेडरिघले भने, ‘सायद हामीले यो विषयमा थप स्पष्ट रुपमा सबैलाई बुझाउनुपर्ने थियो । दुईवटा फिचर एकैपटक सार्वजनिक गर्न खोज्दा पनि सरोकारवालामा दुविधा उत्पन्न भएको हो ।’

के हो नयाँ फिचर ?

एप्पलले बालबालिकालाई सुरक्षा दिने हिसाबले दुईवटा फिचर एकैपटक घाेषणा गरेको थियो, जुन सबैभन्दा सुरुमा अमेरिकामा प्रयोग हुने बताइएको छ । 

१. इमेज डिटेक्सन 

‘इमेज डिटेक्सन’ फिचरले आईक्लाउडमा बालबालिकामाथि भएको यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरू स्टोर भएको पत्ता लगाउन सक्नेछ । 

अमेरिकाकाे ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ ले बालबालिकामाथि भएको यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरूको डाटावेस बनाएर राख्ने गर्छ ।

यस्ता अवैधानिक सामग्रीहरूलाई सेन्टरले डिजिटल फिङ्गर प्रिन्टको रुपमा स्टोर गर्ने गर्छ । फेसबुक, गुगल र माइक्रोसफ्ट लगायतको क्लाउड सेवा प्रदायकहरूले पहिलेदेखि नै सेन्टरको रेकर्डको आधारमा प्रयोगकर्ताले त्यस्ता दुरुपयोगका तस्वीरहरू पोस्ट गरेको पत्ता लगाउने गरेका छन् । एप्पलले पनि यही प्रक्रिया लागू गर्न लागेको बताएको छ । 

एप्पलका अनुसार त्यस्ता दुरुपयोगलाई तस्वीरहरू आईक्लाउडमा अपलोड हुनुभन्दा अगाडि आईफोन र आईप्याडमा इमेज डिटेक्सन प्रविधिको आधारमा पत्ता लगाउनेछ ।

फेडरिघले यो प्रविधिले बालबालिकामाथि भएको यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू मात्र पत्ता लगाउने, तर कसैको बालबालिकाको व्यक्तिगत तस्वीर भने बाहिर ननिकाल्ने दाबी गरे । 

यदि कोही आईफोन वा आईप्याड प्रयोगकर्ताले बालबालिकालाई दुर्व्यवहार गरेको डिजिटल फिङ्गरप्रिन्टसँग मिल्दो फोटो अपलोड गरेमा प्रयोगकर्ताको अकाउन्टको बारेमा सो प्रणालीले स्वत: एप्पललाई सूचना दिनेछ र एप्पलले सो तस्वीरको समीक्षा गर्नेछ,’ उनले बताए ।

उनका अनुसार यो प्रणालीले तस्वीर पत्ता लगाउनुभन्दा अगाडि उस्तै प्रकारका कम्तीमा पनि ३० वटा तस्वीर अपलोड हुनुपर्नेछ । 

२. म्यासेज फिल्टर 

एप्पलले ल्याएको अर्को आईक्लाउड टुल हो, म्यासेज फिल्टर । यसको सहायतामा अभिभावकले आफ्ना छोराछोरीको अकाउन्ट नियन्त्रण गर्न सक्नेछन् ।

यो टुल एक्टिभेट गरेपछि अभिभावकले आफ्ना छोराछोरीले कसलाई कस्तो तस्वीर पठाएको अथवा कोबाट कस्तो तस्वीर आएको हेर्न मिल्नेछ । यदि मसिन लर्निङ सिस्टमले उक्त तस्वीर अश्लील रहेको पत्ता लगाएमा सो तस्वीरका बारेमा प्रयोगकर्तालाई सचेत गराउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१