close

भरतपुरमा सुनियोजित रुपमा इन्टरनेटका तार काटिएको भन्दै आईस्पानको आपत्ति

टेकपाना टेकपाना

भदौ २, २०७८ २१:५९

भरतपुरमा सुनियोजित रुपमा इन्टरनेटका तार काटिएको भन्दै आईस्पानको आपत्ति

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काट्नुका साथै दूरसञ्चार उपकरणमा क्षति पुर्‍याएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै आईस्पानले विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरेको र दूरसञ्चार उपकरणहरुमा समेत क्षति पु¥याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिई इन्टरनेट सेवा नै अवरुद्ध गराएको जानकारी दिएको छ ।

पोल भाडादरबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयसँग छलफल भइरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको आईस्पानले उल्लेख गरेको छ ।

‘साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेररउल्लङ्घन गरी गरिएकोे उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद–१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सो विज्ञप्तिमार्पत सम्बन्धित निकायहरुलाई जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ गत साउन २४ मा दूरसञ्चार ऐनको दफा २१ र दफा ४२ को व्यवस्थाबारे नेपाल विद्युत प्राधिकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराउँदा गराउँदै पनि यस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गरेकोमा हामी इन्टरनेट सेवा प्रदायकहरु ज्यादै अचम्मित भएका छौं ।’

विद्युत प्राधिकरणका कर्मचारीले इन्टरनेट तार काट्नुका साथै दूरसञ्चार उपकरणमा क्षति पु¥याएपछि भरतपुरका दशौं हजार आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ ।

‘यो कदमले कोभिड–१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायतका संवेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान रखिरेहको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्‍याउने नियतवश गरिएको कार्यको उपज त होइन ? भनेर उपभोक्ताहरुले प्रश्न गरिरहेका व्यहोरा यो प्रेस विज्ञप्तिबाट जानकारी दिन चाहन्छौें,’ आईस्पानले उल्लेख गरेको छ ।

सम्बन्धित सबै निकायहरुलाई ध्यानाकर्षण गराउँदै यस्ता गैरकानुनी कार्यहरुलाई गम्भीर रुपमा लिई सो कार्यहरुलाई तत्कालै रोक्नका लागि आवश्यक काम कारवाही गर्न आईस्पानले आग्रह गरेको छ ।

के छ दूरसञ्चार ऐन, २०५३ मा ?

परिच्छेद –१० सजाय र पुनरावेदन को दफा ४७ को व्यवस्था
(५) कुनै व्यक्तिले बदनियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा सोसँग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्‍याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

(१) कुनै व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन गरेमा वा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापत क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।

(३) कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा वा अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगो बमोजिम जरिवानासमेत गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१