close

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने, अर्को महिना संसदमा भोटिङ हुँदै

टेकपाना टेकपाना

माघ १४, २०७९ १८:५७

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने, अर्को महिना संसदमा भोटिङ हुँदै

काठमाडौँ । अमेरिकी सरकारले सरकारी कामकाजका लागि प्रयोग हुने डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अगाडि बढाएसँगै आउने महिना यस विषयमा भोटिङ हुने भएको छ । अमेरिकी सदनमा सांसदहरले आउँदो महिना टिकटकमाथि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा आ-आफ्नो मत दिनेछन् ।

यदि प्रतिबन्ध गरिनुपर्छ भन्ने विचारमा धेरै मत आए सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध हुनेछ । टिकटकको माध्यमबाट चीनले अमेरिकाको सरकारलाई निगरानी राख्न सक्ने भन्दै सदनमा टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा लामो समयदेखि बहस चलिरहेको छ ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रयोगकर्तालाई टिकटक डाउनलोड गर्न र प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । यद्यपि उक्त समयमा यो निर्णय प्रभावकारी बन्न सकेको थिएन ।

सन् २०२१ को जुन महिनामा अहिलेका राष्ट्रपति जो बाइडेनले यस विषयमा पुन: प्रस्ताव पेस गरेपछि यो कुरालाई लिएर सदनमा बहस सुरु भएको हो । पछिल्लो तीन वर्षमा निकै चर्चा कमाएको शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकमा करिब १० करोड अमेरिकी प्रयोगकर्ता छन् ।

आमनागरिकको हकमा पनि टिकटकको प्रयोगलाई लिएर अमेरिकी सरकारले कस्तो निर्णय लिनेछ भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । अमेरिकी सरकारले डेटा सुरक्षाको कारण प्रतिबन्ध लगाउने प्रस्ताव गरेपनि टिकटकले भने अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा असुरक्षित नभएको दाबी गर्दै आएको  छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १८:५८