close

क्वालिटी नघटाई भिडिओको साइज कम गर्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ २१, २०७९ १२:८

क्वालिटी नघटाई भिडिओको साइज कम गर्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । ईमेलबाट २५ एमबीसम्म साइज भएको भिडि‌ओमात्र पठाउन सकिन्छ । त्योभन्दा ठूलो साइजको भिडि‌ओ पठाउन ड्राइभ अथवा अन्य माध्यम प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै कुनै भिडिओ अरुलाई पठाउँदा वा भण्डारण गर्दा यसकाे साइज समस्या बनिदिन्छ ।

तर हामीले केही प्लेटफर्महरू प्रयोग गरेर गुणस्तर नघटाई भिडिओ आकार घटाउन (कम्प्रेस) सक्छौँ । भिडिओको आकार घटाउने प्लेटफर्ममध्ये हामीले 'भिड' (Veed) प्लेटफर्म चयन गरेका छौं ।

भिड (veed)

यो एक अनलाइन भिडिओ एडिटिङ प्लेटफर्म हो । यस प्लेटफर्मले भिडिओ कम्प्रेस (आकार घटाउने) सुविधा नि:शुल्क उपलब्ध गराएको छ । अनलाइन प्लेटफर्म भएकाले यसबाट भिडिओको आकार घटाउन विशेष प्रकारको कम्प्युटरको आवश्यकता पर्दैन ।

तपाईंसँग स्तरीय इन्टरनेट भए भिडिओको आकार घटाउन पर्याप्त हुन्छ । यो क्लाउडमा आधारित भएका कारण स्टोरेज क्षमताको समेत चिन्ता लिनुपर्दैन ।

Veed बाट कुनै पनि भिडिओको आकार घटाउनका  लागि सबैभन्दा पहिले यसको वेबसाइटमा जानुहोस् । त्यसका लागि यहाँ क्लिक गर्नुहोस् । नयाँ खुलेकाे इन्टरफेसमा ‘चुज भिडिओ’ अप्सनमा क्लिक गर्नुहोस् ।

 

 

त्यहाँ क्लिक गरेपछि तपाईंले आफ्नो डिभाइसमा भएको भिडिओ अपलोड वा ड्र्याग गर्नुहोस् । यसले MP4, MOV, MKV, AVI, WMV र FLV फाइल सपोर्ट गर्छ । यहाँ लाग्ने समय तपाईंको इन्टरनेट स्पिडमा भर पर्छ । 

 





 

भिडिओ अपलोड भइसकेपछि तलको जस्तो नयाँ इन्टरफेस आउँछ । यसमा विभिन्न विकल्पहरु रहेका छन् । हामीले यहाँ भएका प्रमुख कुराहरुलाई विभिन्न रङ्गको कोठा बनाएर व्याख्या गरेका छौं ।

 

 

तपाईंले ‘कम्प्रेसन अप्सन’ (चित्रमा कालो कोठा) बाट फाइल कस्तो/कत्रो बनाउने भन्ने चयन गर्न सक्नुहुनेछ । जसमा भएको निलो रेखालाई दायाँबायाँ गरेर गुणस्तर चयन गर्न सकिन्छ । त्यसमा दायाँबायाँ गर्दा तल रहेको ‘एस्टिमेड कम्प्रेस्ड साइज’मा भिडिओको नयाँ आकार देखिन्छ । यस्तै भिडिओको फ्रेमरेटमा पनि परिवर्तन गर्नु छ भने यसैसँगै रहेको ‘एड्भान्स्ड सेटिङ’मा जान सक्नुहुनेछ । 

 

तपाईंले ‘रेजाेलुसन’  (चित्रमा रातो कोठा) बाट समेत भिडिओको गुणस्तर र आकारमा परिवर्तन गर्न सक्नुहुनेछ । त्यस्तै तपाईंलाई भिडिओको कुनै भागमा परिवर्तन गर्नुछ भने ‘एडिट भिडिओ’ (चित्रमा बैजनी कोठा) बाट सक्नुहुनेछ । 

 

अब तपाईंले प्रयोग गर्नुभएको भिडिओ फाइलको विवरण ‘फाइल डिटेल्स’ (चित्रमा सुन्तले कोठा) मा देख्न सक्नुहुनेछ । जसमा फाइलको नाम, भिडिओको समय अवधि, रेजुलेसन, फर्म्याट र करेन्ट साइज रहेको छ ।

 

अब सबै कुरा गरिसक्नु भएपछि भिडिओको आकार घटाउन ‘कम्प्रेस भिडिओ’ मा क्लिक गर्नुहोस् । (चित्रमा निलो कोठा) त्यसमा तपाईंले गर्नुभएको सेटिङका आधारमा फाइल कति साइजमा झर्न सक्छ भन्ने देखिन्छ । 

 

केही समयपछि भिडिओ कम्प्रेस हुन्छ । अब तपाईंले वास्तविक आकारबाट कति प्रतिशत साइज घट्यो देख्न सक्नुहुन्छ । त्यसैको मुनि भएको डाउनलोड अप्सनबाट भिडिओ डाउनलोड गर्न सक्नुहुन्छ । 

 


यस वेबसाइट बाहेक अन्य धेरै प्लेटफर्मबाट गुणस्तर नघटाई आकार घटाउन सकिन्छ । भीएलसी, क्विक टाइम (म्याक), शर्टकट केही उदाहरण हुन् ।

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १२:८