close

इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्न अब शुल्क लाग्ने

टेकपाना टेकपाना

माघ २३, २०७९ १२:५९

इन्स्टाग्राम अकाउन्ट भेरिफाई गर्न अब शुल्क लाग्ने

काठमाडौँ । इन्स्टाग्रामले पनि ट्वीटरमा जस्तै सशुल्क भेरिफिकेसन लागू गर्ने भएको छ । पछिल्लो समय एलन मस्कको नेतृत्वमा ट्वीटरले यो फिचर ल्याएसँगै इन्स्टाग्रामले पनि 'पेड भेरिफिकेसन' फिचर ल्याउन लागेको हो ।

सञ्चारमाध्यम टेकक्रन्चले प्रकाशित गरेको एक रिपोर्टअनुसार पछिल्लो समय बाहिरिएको इन्स्टाग्राम कोडमा कम्पनीले सशुल्क भेरिफिकेसन सेवा ल्याउन लागेको खुलेको छ ।

डेभलपरले पत्ता लगाएको उक्त जानकारी अनुसार इन्स्टाग्रामको मातृ कम्पनी मेटाले सशुल्क भेरिफिकेसन सेवा ल्याउन लागेको हो ।

यसो त इन्स्टाग्रामले यसलाई सामान्य परीक्षण भएको पुष्टि गरेको छ । तर, पेड भेरिफिकेसनकै फिचरबारे थप केही नभनेको टेकक्रन्चले उल्लेख गरेको छ ।

टेकक्रन्चले प्राप्त गरेको कोडमा यस्तो उल्लेख गरिएको छ, “IG_NME_PAID_BLUE_BADGE_IDV” and “FB_NME_PAID_BLUE_BADGE_IDV.”

यहाँ आईडीभी भन्नाले आईडेन्टिटी भेरिफिकेसन भएको दाबी छ । सुरुवातमा इन्स्टाग्राम भेरिफिकेसन एक जटिल प्रक्रिया भएको भन्दै कम्पनीमा सयौं निवेदन आउने गरेको विभिन्न रिपोर्टमा उल्लेख छ । 

कम्पनीले सन् २०१८ बाट हरेक प्रयोगकर्तालाई इन्स्टाग्राम भेरिफिकेसनको अनुरोध गर्न सक्ने फिचर ल्याएको थियो । यद्यपि सबै किसिमका प्रयोगकर्ताले ब्लु टिक भेरिफिकेसन पाउन सकेका छैनन् । 

कम्पनीले यही समस्यालाई सम्बोधन गर्दै नयाँ फिचर ल्याउन लागेको अनुमान गरिएको छ । अहिले इन्स्टाग्रामले हाइ-प्रोफाइल व्यक्ति, सेलिब्रेटी तथा ब्रान्डहरूलाई मात्र ब्लु टिक भेरिफिकेसन दिने गरेको छ । 

इन्स्टाग्रामको यो फिचर सार्वजनिक रूपमा कहिले उपलब्ध हुन्छ र शुल्क कति लाग्छ भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन ।

 

 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १३:३४