काठमाडौँ । फेसबुकले हालसालै फेसबुक स्टोरीमा कमेन्ट गर्न सकिने फिचर ल्याएकाे छ । यसका माध्यमबाट हाम्रो फेसबुक स्टोरीमा जोकोहीले पनि कमेन्ट गर्न सक्छन् र त्यस्ता कमेन्ट जोसुकैले हेर्न सक्छन् ।
अधिकांश प्रयोगकर्ताले व्यक्तिगत पोस्टहरू छोटो समयका लागि शेयर गर्नुपर्यो भने फेसबुक स्टोरीलाई उपयुक्त विकल्प ठान्छन् । त्यस्ता स्टोरीमा सार्वजनिक रूपमा कमेन्ट गर्न मिल्ने भएपछि धेरैलाई चित्त नबुझेको हुनसक्छ ।
आज हामी फेसबुक स्टोरीमा कमेन्ट गर्न मिल्ने फिचरलाई कसरी हटाउने भन्ने विषयमा जानकारी दिँदैछौँ:
- सबैभन्दा पहिले फेसबुकमा एउटा स्टोरी अपलोड गर्नुहोस् ।
- त्यसपछि आफ्नो स्टोरीमा जानुहोस् ।
- अनि माथि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- र, 'एडिट स्टोरी प्राइभेसी' अप्सनमा जानुहोस् ।
- 'अनि कमेन्ट्स' अप्सनमा गएर अफ गर्नुहोस् ।
(यदि आफूले राखेका हरेक स्टोरीबाट कमेन्टको अप्सन हटाउनुपर्यो भने यो तरिका अपनाउन सक्नुहुन्छ ।)
यदि कुनै निश्चित स्टोरीमा मात्र कमेन्टको अप्सन अन वा अफ गर्नुपर्ने भयो भने तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले आफूले कमेन्टको अप्सन राख्न वा हटाउन चाहेको स्टोरीमा जानुहोस् ।
- त्यसपछि माथि भएको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् ।
- र, सबैभन्दा माथि रहेको 'टर्न कमेन्ट'को अप्सनबाट अफ भएको अवस्थामा कमेन्ट अन र अन भएको अवस्थामा कमेन्ट अफ गर्न सकिन्छ ।