काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ लाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघ संस्थाहरुले आफ्नो ब्राण्ड प्रवर्द्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको आयोजक क्यान महासंघले जनाएको छ ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।
त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारासहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवर्द्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।
मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।
त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ ।
मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु २५ मै उपलब्ध गराइरहेको क्यान महासंघको भनाइ छ ।
मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ । साथै एनसेलले ई-सिम अपग्रेड सेवा पनि दिइरहेको छ ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिनसक्ने सुविधाहरू राखिएको छ ।
त्यस्तै कान्तिपुर सिटी कलेजले क्यान इन्फोटेकको अवसर पारी विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ ।
त्यस्तै इसेट एन्टिभाइरसमा ६० प्रतिशत छुट घोषणा गरिएको छ । भुक्तानी सेवा प्रदायक आइएमई पेले क्यान इन्फोटेकमा आउने अवलोकनकर्तालाई निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाईसी भेरिफाइड समेत गरिरहेको छ ।
अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेकाे क्यानले उल्लेख गरेकाे छ ।
यसअन्तर्गत यू-सफ्ट कम्प्युटर टेक्नोसिसले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएको छ ।
छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
मेलामा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीको भनाइ थियो । यसमध्ये पूजापाठ कम्पनीले तयार पारेको एन्ड्रोइड एप ‘पूजापाठ’ क्यान इन्फोटेककै अवसरमा पारी बुधबार सार्वजनिक गरियो । यस एपमार्फत कुनै पनि पूजाका लागि पण्डित तथा गुरु बोलाउन सकिने तथा एपबाटै पूजा सामग्री अर्डर गर्न सकिने बताइएको छ ।
साथै अन्य स्टार्टअप स्टलमा पनि विद्यार्थी तथा कम्पनीले तयार पारेका उत्पादन प्रदर्शनीमा राखिएको छ । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको क्यानले जनाएको छ ।
१५० भन्दा बढी स्टलसहित सञ्चालन भइरहेको यो मेला आइतबारसम्म चल्ने छ ।
साथै क्यान इन्फोटेककै अवसर पारी आजदेखि क्यान आईसीटी सेमिनार सुरु भएको छ । पहिलो दिन प्रविधि उद्योग र एकेडेमियाबीच देखिएको अन्तरका विषयमा सरोकारवालाबीच अन्तर्क्रिया भएको आयोजकले जनायो ।