close

सर्च इन्जिनलाई एआई प्रयोग गर्न उक्साउँदै च्याटजीपीटी

टेकपाना टेकपाना

माघ २६, २०७९ ८:१८

सर्च इन्जिनलाई एआई प्रयोग गर्न उक्साउँदै च्याटजीपीटी

काठमाडौँ । नयाँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टुलले दिग्गज प्रविधि कम्पनीलाई नै चुनौती दिएका छन् । वर्षौँदेखि प्रविधिको क्षेत्रमा राज गरिरहेका कम्पनीलाई पनि नयाँ एआई टुलका कारण थुप्रै चुनौती थपिएका छन् ।

ओपन एआई नामको कम्पनीले नोभेम्बर ३१ मा सार्वजनिक गरेको च्याटजीपीटी ती शक्तिशाली एआई टुलमध्येको एक हो । यो टुलका कारण इन्टरनेटमा वर्षौँदेखि सर्च इन्जिनको नेतृत्व गरिरहेको गुगल सर्चलाई नै विस्थापित हुने जोखिम बढेको छ ।

प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा एआई टुलको प्रयोग बढिरहेको छ । विशेषगरी मानव जनशक्तिले धेरै समय लगाएर गर्ने केही कामहरू च्याटजीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्सका मोडेलले क्षणभरमै गर्न सक्छन् । त्यसैले यस्ता टुलको प्रयोग बढेको हो ।

अहिले च्याटजीपीटीलाई विभिन्न क्षेत्रका मानिसहरूले आफ्नै व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपयोग गरिरहेका छन् । च्याटजीपीटीकै लागि तयार पारिएका विभिन्न एक्सटेन्सनले पनि च्याटजीपीटीलाई झनै उपयोगी बनाएका छन् ।

यही टुलका कारण गुगल, बिङजस्ता सर्च इन्जिन एआई मोडेलमा प्रवेश गर्न जोड गरिरहेका छन् ।

यही परियोजना अन्तर्गत गुगलले सोमबार आफ्नो सर्च इन्जिनमा एआई टुल 'बार्ड' समावेश भएको घोषणा गरेको छ ।

च्याटजीपीटीकै लोकप्रियताका कारण माइक्रोसफ्टले ओपनएआईमा १० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता समेत दिएको छ । त्यससँगै कम्पनीले बुधबार च्याटजीपीटीलाई बिङमा समावेश गरिसकेको छ । परीक्षणकै अवधि भएकाले सर्वसाधारणले भने यो सेवा प्रयोग गर्न केही दिन पर्खिनुपर्ने हुन्छ ।

सिलिकन भ्याली बाहेकका सर्च इन्जिन पनि एआई टुलकै रफ्तारमा छन् । चिनियाँ सर्च इन्जिन कम्पनी बैडुले पनि सर्च इन्जिनमा च्याटबट समावेश गर्ने घोषणा गरेको छ । 

आखिर यी सर्च इन्जिनका कम्पनीहरू किन एआईका लागि प्रतिस्पर्धा गरिरहेका छन् त ?

प्रविधिका क्षेत्रमा दिग्गज मानिने कम्पनीले इन्टरनेटबाट अकल्पनीय मात्रामा डेटा सङ्कलन गरेका छन् । आफ्नो एल्गोरिदमलाई उक्त डेटाका माध्यमबाट तालिम दिएको उनीहरूले दाबी छ ।

यही एल्गोरिदमका माध्यमबाट अमेजनको एलेक्जा, एप्पलको सिरी वा गुगल असिस्टेन्टजस्ता टुलले काम गरिरहेका छन् । यस्ता टुलका माध्यबाट केही हदसम्म मानिसहरूसँग कुरा गरिरहेको अनुभव हुन्छ ।

गुगल र फेसबुकले सयौँ भाषाहरू अनुवाद गर्न, स्क्रिनमा हानिकारक कन्टेन्ट देखिनबाट रोक्न तथा लक्षित अडियन्सम्म विज्ञापन पुर्‍याउन पनि एआई प्रयोग गरिरहेका हुन्छन् ।

यद्यपि सर्च गर्ने कुरामा भने एआईको त्यति प्रयोग भएको देखिएको थिएन । गुगलमा केही कुरा खोज्नुपर्‍यो भने हामीलाई उपयुक्त लिङ्कहरू सुझाव दिइन्छ, जहाँबाट आफूलाई उपयुक्त हुने कन्टेन्ट खोज्नुपर्ने हुन्छ । 

तर, च्याटजीपीटी जस्तो एआई टुलका माध्यमबाट प्रयोगकर्ताले अपेक्षा गरेकै उत्तरहरू उपलब्ध हुन्छ । च्याटजीपीटीले मानिसहरूलाई गुगल वा बिङमा देखिने रिजल्टलाई परम्परागत शैली जस्तो बनाइदियो । जसले गर्दा मानिसहरू च्याटजीपीटीमा आकर्षित हुन थाले  ।

आफूले खोजेका प्रश्नको उत्तरका लागि विभिन्न लिङ्कमा भर पर्नुपर्ने अवस्था थियो । जसले गर्दा मानिसहरूको समय पनि धेरै खर्च भइरहेको थियो । र, खोजे अनुरुपको रिजल्ट नपाउँदा मानिसहरू निराश भइरहेका पनि थिए ।

यही समस्याको समाधानका लागि मानिसहरूले त्यस्तो टुल खोजी रहेका थिए । जसले क्षणभरमै उनीहरूले राखेका जिज्ञासा मेटाउन सकोस् । अधिकांश इन्टरनेट प्रयोगकर्ताको चाहना च्याटजीपीटीले पूरा गरिदियो । उनीहरूलाई कन्टेन्ट क्षणभरमै पाउने भएपछि मानिसहरूको आवश्यकता अनुसार उक्त कन्टेन्ट जाँच गरे मात्र पुग्ने अवस्था आयो । त्यसैले च्याटजीपीटीको उदयले ठूला सर्च इन्जिनलाई विस्थापित हुने जोखिम बढेको फ्रान्सेली अनुसन्धाकर्ता थेर्री पोइबियूको तर्क छ ।

च्याटजीपीटीको लोकप्रियतासँगै सर्च इन्जिन पनि नवीनतम प्रयोग गर्न तयार भए । जसको फलस्वरूप अहिले शीर्ष तीन सर्च इन्जिनका आफ्नै च्यटबट छन् । जसमा गुगल, बिङ र बाइडु रहेका छन् ।

च्याटबटका सकारात्मक पक्ष त छँदै छन् । साथैसाथै पछिल्ला केही महिनामा च्याटबटको दुरुपयोग पनि हुन थालेको छ । च्याटजीपीटीका माध्यमबाट विद्यार्थीले चिटिङ गरेको भन्दै कैयौँ विद्यालयले आफ्नो परिसरभित्र च्याटजीपीटीमाथि नै प्रतिबन्ध लगाएका छन् ।

त्यसबाहेक पनि च्याटजीपीटीका थुप्रै कमजोरी छन् । च्याटजीपीटीले हालसालै भएका कुनै पनि घटनाको जानकारी दिँदैन । अर्थात् सन् २०२१ पछिका डेटा च्याटजीपीटीमा भेटिँदैनन् । यसैगरी रचनात्मक पक्षमा पनि च्याटजीपीटी कमजोर छ । जसले गर्दा च्याटजीपीटीले केही घुमाउरा प्रश्नको गलत जवाफ दिइरहेको छ ।

अब सर्च इन्जिन कम्पनीले च्याटजीपीटीका सीमितता र कमजोरीलाई समाधानका रूपमा नयाँ फिचर ल्याएको खण्डमा ती प्लेटफर्म सफल हुने धेरैको अनुमान छ । विभिन्न सर्च इन्जिनले सिस्टममा च्याटबट समावेश गरिसकेको भएपनि सर्वसाधारणले प्रयोग गर्न भने पाएका छैनन् । यसले कम्पनीको आम्दानीमा कसरी सहयोग पुर्‍याउँछ । अन्य कन्टेन्ट क्रियटरलाई कस्तो असर गर्छ भन्ने कुरा चाहिँ हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ ८:१८