close

सस्तो मूल्यमा मिभी ब्राण्डका साउन्डबार, हेर्नुहोस् भिडिओ रिभ्यु

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ २७, २०७९ १४:५

काठमाडाैं । घरमा टिभी छ, तर साउन्डबार चित्त बुझिरहेको छैन वा मस्त गीत सुन्न सस्तो दाममा राम्रो स्पिकर खोज्दै हुनुहुन्छ भने भारतीय ब्राण्ड मिभी (mivi)का साउन्डबार एउटा विकल्प हुनसक्छ ।

आज हामी नेपाली बजारमा उपलब्ध मिभीका दुई ओटा साउन्डबार 'एस१००''एस६०' बारे चर्चा गर्दै छाैँ, जसबाट तपाईँले थाहा पाउनुहुनेछ कसका लागि कुन चाहिँ साउन्डबार उपयुक्त हुन्छ भनेर । 

यी दुई साउन्डबारको मोडेलले नै यो कति वाटको साउन्डबार हो भनेर जनाउँछ । अर्थात् एस१०० भन्नाले १०० वाट र एस६० भनेकाे ६० वाट ।

साउन्डबार जति धेरै वाटको भयो, उति चर्को आवाजमा बज्छ । तर यसो भन्दै गर्दा धेरै वाटको हुँदैमा साउन्ड स्तरीय हुन्छ भन्ने चाहिँ होइन ।

स्तरीय साउन्ड हुन साउन्डबारमा कति ओटा स्पिकर छन्, तिनीहरूको प्लेसमेन्ट कस्तो छ ? उफर छ कि छैन ? त्यसलाई कन्ट्रोल गर्ने अप्सन कत्तिको उपलब्ध गराइएको छ ? यी र यस्ता थुप्रै कुराले भूमिका खेल्छन् । 

अब लागौँ, एस१०० तर्फ । मिभी एस १०० काे मूल्य भारतीय बजारमा पाँच हजार भारू छ । नेपाली बजारमा १२ हजार पर्छ, जुन ठाडो हिसाब गर्दा अलि महँगो लाग्न सक्छ । विभिन्न कर तथा राजश्वले गर्दा भारतको दाँजोमा यहाँ तीन/चार हजार महँगो परेको हुनुपर्छ ।

तैपनि बजेटका हिसाबले हेर्दा यो सस्तो साउन्डबारहरूकै सूचीमा पर्न आउँछ । ठूलो कोठा अनि ठूलै स्मार्टटिभी छ भने एस१०० मोडलको यो साउन्डबार पनि सानै लाग्न सक्छ ।

तर, मझौला खालको कोठा छ, सानो परिवारसँगै बसेर टिभी हेर्ने हो भने ४३ देखि ५५ इन्चसम्मको टेलिभिजनका लागि यो उपयुक्त नै हुन्छ जस्तो मलाई लाग्छ ।

किन कि 'MIVI S100' को लम्बाइ ३८ इन्च छ । योभन्दा सानोका लागि 'MIVI S60' सुहाउँदो हुनसक्छ । 

लुक्सको कुरा गर्ने हो भने यी दुवै साउन्डबार उस्तै देखिन्छन् । बजेटअनुसार सस्तो भइकन पनि दुवै साउन्डबार हेर्दा स्लिक, स्टाइलिस अनि प्रिमियम देखिन्छन् ।

'मेटालिक फिनिश' भएको हुँदा साउन्डबार थोरै हेभी लाग्न सक्छ । साथमा बलियो पनि देखिन्छ । टेबलमा राख्ने हो भने तलपट्टि दिइएको यो रबरले यसलाई स्क्र्याच हुनबाट रोक्छ ।

त्यस्तै टेलिभिजन वालमा माउन्ट गर्नुभएको छ भने यसमा माउन्ट गर्न मिल्ने अप्सन पनि उपलब्ध गराइएको छ, जसले गर्दा लुक्स र डिजाइनवाइज टेबलमा राखिएको होस् वा भित्तामा टाँसिएको नै किन नहोस् जुनसुकै स्मार्टटिभीसँग यसको मजाले जोडी मिल्छ।

लम्बाइअनुसार एस६० थोरै छोटो छ । यसको मतलब ३२ देखि ४३ इन्चसम्मको टिभीको लागि यो ठीकठाक नै हुनसक्छ । समग्रमा भन्दा बजेट अनुसार जे जस्तो डिजाइन र क्वालिटी उपलब्ध गराइएको छ, त्यसलाई 'इम्प्रेसिभ' नै मान्नुपर्छ । 

झट्ट हेर्दा उस्तै देखिए पनि यी दुईबीच केही भिन्नता भने अवश्य पनि छ । जस्तो कि, एस१०० को कन्ट्रोल बटन साउन्डबारको माथिपट्टि बीच भागमा छ भने एस६० को साइडमा छ ।

'Multiple Input Ports' दुवै साउन्डबारको पछाडिपट्टि राखिएको छ । ठाउँ एकै खालको भएपनि एस६० मा एस१०० भन्दा एउटा अर्थात् 'HDMI ARC' पोर्ट चाहिँ कम छ ।

यसको अलवा 'Aux', 'Coaxial' र यूएसबी पोर्ट दुवैमा समान छन् । साथमा वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.० पनि दुवैमा उपलब्ध छ । भन्नुको मतलब मोबाइलमा वा ल्यापटपमा पनि साउन्डबार कनेक्ट गरेर म्युजिक र मुभीको मजा लिन सकिन्छ ।

'USB', 'Aux' वा 'HDMI Input' मा जुन अडियो पाउँछौँ, ब्लुटुथबाट कनेक्ट गरेर सुन्दा अलि सानो सुनिएको झैँ मलाई महसुस भएको छ । विभिन्न इनपुटभन्दा अहिलेको समयमा वायरलेस कनेक्सन नै लोकप्रिय छ । त्यसैले ब्लुटुथको लेटेस्ट भर्सन भइदिएको भए अझै राम्रो हुने थियो ।

साथमा एस६० मा एचडीएमआई पोर्ट नहटाएर एस१०० मा चाहिँ अप्टिकल अडियाे इनपुटकाे अप्सन पनि उपलब्ध गराइएको भए साउन्डबार अझै अब्बल हुनसक्थ्यो । तर सस्तो बजेटमा ल्याइएको हुँदा यही मूल्यमा सबै कुरा अपेक्षा गर्नु चाहिँ त्यति उचित नहोला । 

दुवै साउन्डबारमा तीन ओटा साउण्ड मोड दिइएको छ । मुभी, न्युज र म्युजिक, जसले सामान्यतः हाम्रो आवश्यकतालाई पूरा गरिदिन्छ ।

फिल्म हेर्दा मुभी मोडमा अडियो सुन्नुभयो भने 'Surround Sound' सुन्न सकिन्छ । त्यस्तै न्युज मोडमा भ्वाइस स्पष्ट सुनिन्छ । अनि म्युजिक मोडमा 'Bass' अलि बढी आएको महसुस हुन्छ ।

टिभी वा अन्य कतिपय महँगा साउन्डबारमा जस्तो 'Adaptive' वा सबै खालका कन्टेन्टको लागि उपयोगी हुने साउण्ड मोड चाहिँ छैन । जसको अभाव यो साउन्डबार किन्नेहरुलाई हुनसक्छ ।

साथमा स्तरीय साउन्डका लागि मुभी हेर्दा एउटा, अनि म्युजिक सुन्दा अर्को मोडमा स्विच भइरहनुपर्छ भने 'Bass' वा 'Treble' कन्ट्रोल गर्ने अप्सन पनि यसमा छैन ।

यी बाहेक अरु खोट भने यी साउन्डबारमा मैले खासै देखिनँ । यद्यपि नर्मल साउन्डबारभन्दा यो धेरै नै स्तरीय छ। किन कि यी दुवैमा दुई ओटा 'Subwoofer inbuilt' नै छन् । 

साउन्ड क्वालिटी सिनेम्याटिक खालको छ । दुवैलाई वायरलेस हिसाबले कन्ट्रोल गर्न सकिन्छ । अर्थात् यी दुवै साउन्डबारलाई रिमोटबाट हामीले कन्ट्रोल गर्न सक्छौँ ।

रिमोट नर्मल खालको छ, कनेक्टिभीटीका लागि छुट्टाछुट्टै बटनहरु दिइएका छन् । मोड चेन्ज गर्न वा भाेल्युम कन्ट्रोलका लागि पनि सजिलो छ ।

तर उपभोक्ताको हिसाबले हेर्ने हो भने चाहिँ रिमोट पनि इन्फ्रारेड सिग्नलको सट्टा ब्लुटुथवाला नै भएको भए साउन्डबारको सेन्सरतर्फ सिधा सोझ्याइरहनु पर्दैनथ्यो ।

त्यस्तै स्पिकरमा डिस्प्ले नभएकाले भाेल्युम कति छ र कुन मोडमा चलिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो पर्छ । टिभीमा साउन्डबारलाई कनेक्ट गरेर भाेल्युम अप, डाउन गर्दा '+2' ले बढ्छ अनि मोड सेलेक्सन पनि थोरै स्लो जस्तो मलाई लाग्यो । जुन यी साउन्डबारमा मलाई लागेका कमजोर पक्ष हुन्। 

यी दुवै साउन्डबारमा चार ओटा स्पिकर छन्, जसको ड्राइभर पनि समान नै छन् । तर एस६० को अगाडिपट्टि मात्रै स्पिकर राखिएको छ भने एस१०० मा चाहिँ स्पिकरको प्लेसमेन्ट अगाडिसँगै माथितिर पनि छ, जसले गर्दा एस१०० को अडियो एस६० भन्दा स्तरीय सुनिन्छ । 

भारतमा बनेका यी साउन्डबार किन्दा तपाईंले साउन्डबारसँगै रिमाेट कन्ट्राेल, त्यसमा लाग्ने ट्रिपल ए ब्याट्री, एयूक्स केबल, पावर कार्ड, वारेन्टी कार्ड र म्यानुअल पाउनुहुन्छ । साउन्डबारको प्याकेजिङ पनि गतिलैसँग गरेको मैले पाएँ, जसले गर्दा सुरक्षित रुपमा हाम्रो घरसम्म ल्याउन खासै समस्या हुँदैन। 

समग्रमा भन्दा बजेट अनुसार यी साउन्डबार स्तरीय नै छन् । थोरै बजेटमा साउन्डबारको मज्जा लिन चाहनेका लागि यो उचित विकल्प बनेर आएको छ । जति पनि साउन्ड मोड र अप्सन छन्, मूल्यका हिसाबले यसलाई पर्याप्त नै मान्न सकिन्छ ।

तर यी साउन्डबारमा पछिल्लाे ब्लुटुथ भर्सन, बेस (bass), ट्रेबल कन्ट्राेल (Treble Control) गर्न मिल्ने अप्सनसँगै एडाप्टिभ खालको साउन्ड मोड पनि अझै धेरैको मन जित्न सफल हुन्थ्यो भन्ने महसुस हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १४:१२