close

दुई लाख ६० हजारमा सेगवेको नयाँ ई-स्कुटर सार्वजनिक, सिङ्गल चार्जमा १०५ किमिसम्म गुड्ने

टेकपाना टेकपाना

माघ २७, २०७९ २०:४९

दुई लाख ६० हजारमा सेगवेको नयाँ ई-स्कुटर सार्वजनिक, सिङ्गल चार्जमा १०५ किमिसम्म गुड्ने

काठमाडौं । सेगवे नाइनबटको नयाँ ई-स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । सेगवेको नेपालका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै एन-सिरिज अन्तर्गतको 'एन-१००' ई-स्कुटर सार्वजनिक गरेको हो ।

नेपाली बजारमा 'एन' सिरिजअन्तर्गत सार्वजनिक भएकाे यो पहिलो ई-स्कुटर हाे । कालो र सेतो गरी दुई रंग विकल्पमा उपलब्ध हुने 'एन-१००' को मूल्य दुई लाख ६० हजार रुपैयाँ पर्ने आईहब प्रालिका बिक्री प्रबन्धक धिरेन्द्र कुशवाहले जानकारी दिए ।

साथै ग्राहकले एक महिनाभित्र खरिद गर्दा १० हजार रुपैयाँ छुट पाउनेछन् । ई-स्कुटरमा २२०० वाटको पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडान गरिएको छ ।

त्यस्तै घरैमा चार्ज गर्न सकिने ई-स्कुटरले एकपटकको फुल चार्जमा १०५ किलोमिटरसम्मको रेन्ज दिने उनले बताए । साथै यसको अधिकतम स्पिड ६० किलोमिटर प्रति घण्टा रहेको छ ।

यो विद्युतीय स्कुटरमा एलईडी लाइट, डिजिटल डिस्प्ले र राइडी गो जस्ता स्मार्ट प्रविधि छन् । बलियो इन्जिन र ब्याट्रीसँगै ई-स्कुटरमा सिटमुनि पर्याप्त ठाउँ रहेको छ । स्कुटरमा कम्प्याक्ट डिजाइनबाहेक अत्याधुनिक मोबाइल एपसहितको प्रविधि पनि जडान गरिएको छ ।

यसबाट सवारी चालकको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्र्याक गर्न सकिन्छ । त्यस्तै स्कुटरको अगाडि १० र पछाडि १२ इन्चको ट्युबलेस टायर लगाइएको छ । यसबाहेक सेगवेले आजैबाट रमाइलो कार्निभल कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रममा सेवाग्राहीहरू आफैं आएर कम्पनीको विभिन्न मोडलको स्कुटर टेस्ट राइड गर्नसक्ने कुशवाहले बताए । ललितपुरको झम्सिखेलस्थित सेगवे शाेरुममा आयोजना भइरहेको सो कार्यक्रम माघ २७ गतेदेखि फागुन ५ गतेसम्म चल्नेछ ।

साथै सेगवेको अन्य ई-स्कुटर नाइनबट ई-११० एल, नाइनबट १२५, नाइनबट गोकार्ट प्रो लगायत पनि आईहब प्रालिले बिक्री गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ २०:५९