काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर सार्वजनिक गर्ने तयारी गरेकाे छ । धेरै प्रयोगकर्ताहरूको मागबमोजिम कम्पनीले आवाजलाई शब्दमा उतार्ने फिचर ल्याउन लागेकाे हाे ।
ह्वाट्सएपको विषयमा भित्री जानकारीहरु बाहिर ल्याउने वेबसाइट 'डब्लु ए बेटा इन्फो' मा प्रकाशित एक लेखअनुसार कम्पनीले आवाजलाई अक्षरमा उतार्ने फिचर परीक्षण गरिरहेको छ र यो अब चाँडै सबै प्रयोगकर्ताको लागि उपलब्ध पनि हुनेछ ।
कम्पनीले यो फिचरमा सन् २०२१ देखि नै काम गर्दै आएको छ । सबैभन्दा सुरुमा कम्पनीले आईओएस डिभाइसमा यस फिचरको परीक्षण गरेको थियो । यद्यपि केही कारणले यो परीक्षण बीचमै रोकियो ।
यसरी परीक्षण गरिएका कति फिचरहरू सार्वजनिक नभई हराउने गर्छन् । तर कम्पनीले यो फिचरलाई भने सार्वजनिक प्रयोगको लागि उपलब्ध गराउने पक्का भएको छ ।
बाहिरिएको जानकारी अनुसार ह्वाट्सएपले विभिन्न भाषाहरू यस फिचरमा उपलब्ध गराएको छ । प्रयोगकर्ताले आफूले चाहेको भाषाका लागि ह्वाट्सएपमा नै सो भाषा डाउनलोड गर्नुपर्ने हुन्छ । सुरुवाती चरणमा यो फिचरमा एप्पल डिभाइसहरूमा मात्र उपलब्ध हुने बताइएको छ ।