काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले प्रविधिको क्षेत्रमा नेपालले योजना बनाएर काम गर्न नसकेकाे बताएका छन् । बुधबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले विश्व आर्टिफिसियल इन्टलिजेन्समा धेरै अगाडि बढिरहँदा नेपालले भने केही गर्न नसकेको भनाइ राखे ।
"एआईको प्रयोगले मानिसको जीवनशैलीलाई नै परिवर्तन गरिरहेको बेला हामीसँग कुनै योजना नै छैन," उनले भने, "अहिले च्याटजीपीटीले गुगललाई प्रतिस्थापन गर्ने स्थिति आएको छ । एआई प्रविधि यति अगाडि पुगिरहँदा यो क्षेत्रमा हाम्रो योजना के छ ?"
एआईले परिवर्तन गरिरहेको मानिसको जीवनशैलीलाई मनन गर्दै यस विषयमा गम्भीर भएर अगाडि नबढे नेपाल झन् पछाडि पर्ने उनले भनाइ थियाे । साथै विश्वले टेली एजुकेसन र टेली मेडिसिनको अभ्यासलाई अगाडि बढाइरहँदा नेपालमा भने अझै पनि परम्परागत शैलीमा काम भइरहेको र यसले गर्दा लाखौं जनशक्ती देश छोड्न बाध्य भएको उनले उल्लेख गरे ।
सांसद भण्डारीले मोबाइलमा रिङटोन बजाएर भ्रष्टाचार नियन्त्रण नहुने भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगलाई भ्रष्टाचारका फाइलहरू अध्ययन गरी दोषीलाई कारबाही गर्न माग राखे ।