काठमाडौं । खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । यसअन्तर्गत प्रविधिको आदानप्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौतापत्रमा दियालोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पी.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरे । सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पत्ति व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ ।
त्यस्तै दियालोले जनजलको वाटर एटीएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउने बताइएकाे छ । साथै दुई कम्पनीबीच प्रविधि आदानप्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेसनमा लैजाने सहमति पनि भएको छ ।
यसका साथै नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आ-आफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरीय बनाउन प्रविधिमा सहकार्य गर्ने सहमति भएको बताइएकाे छ ।