close

टर्की भूकम्पको असर नेपालमा, करोडौं रुपैयाँको बीमाको लोभ देखाउँदै अनलाइनबाट ठगी

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन ६, २०७९ २१:२८

टर्की भूकम्पको असर नेपालमा, करोडौं रुपैयाँको बीमाको लोभ देखाउँदै अनलाइनबाट ठगी

काठमाडौं । अनलाइनमार्फत फरक-फरक प्रकृतिका ठगीका घटना हुन थालेका छन् । हालै अनलाइन ठगीकाे नयाँ घटना सतहमा आएको छ ।

गएकाे माघ २३ गते टर्कीको दक्षिणपूर्वी सहर गाजीयान्टेपलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो ।

भूकम्पका कारण हालसम्म ४५ हजार बढीको मृत्यु भइसकेकाे छ । टर्की घटनालाई लिएर नेपालमा भने ठगी हुन थालेकाे छ ।

गत शनिबार तारकेश्वर काठमाडौंका श्याम शर्मा (नाम परिवर्तन)को मोबाइलमा एउटा मेसेज आउँछ । उक्त मेसेज टर्कीको भुकम्पमा मृत्यु हुनेको बिमा रकम दाबी गर्नेसँग सम्बन्धित हुन्छ ।

"हामी टर्कीबाट मेसेज गरिरहेका छौँ । यहाँ भूकम्पमा परी मनोज शर्मा (नाम परिवर्तन) को मृत्यु भएको छ । उहाँको बीमा रकमा ९५ लाख अमेरिकी डलर रहेको छ । आफन्त फेला नपरेको हुँदा हामीले तपाईँको नाममा शर्मा देखेपछि आफन्त ठानेर मेसेज गरेका छौँ । उक्त रकम आफ्नो बनाउन केही कानूनी प्रक्रिया छन् । यदि तपाईं बीमा दाबी गर्न चाहनुहुन्छ भने मेसेज रिप्लाई गर्नुहोला," श्यामलाई आएको मेसेजमा लेखिएको हुन्छ ।

टेकपानालाई यस विषयको जानकारी दिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको साइबर फ्रडका पिल्लर प्रमुख डीएसपी लिलाराज डाँगीले भने, "सबैभन्दा पहिले स्क्यामरहरू एउटा नेपाली नाम तयार पार्ने रहेछन् । नाम तयार पारिसकेपछि थर मिल्नेहरूलाई आफन्त प्रमाणित गर्न सके उक्त रकम पाउन सकिने आश्वासन दिन्छन् ।"

विदेशमा नेपालीले करोडौंका 'लट्री' जितेको समाचार सुनेपछि उक्त रकम पनि पाउन सकिनेमा श्याम ढुक्क हुन्छन् । साथै मेसेजमा सबै कानूनी प्रक्रिया आफूले मिलाउने भएकाले सो रकमको ५० प्रतिशत स्क्यामर आफैंले राख्ने उल्लेख गरेका छन् ।

स्क्यामरले श्यामलाई नाता प्रमाणितका लागि विभिन्न कागजात आवश्यक पर्ने भन्दै मेसेज पठाउँछन् । कागजात पठाउन उनी ह्वाट्सएपमा जोडिन्छन् ।

"उनीहरूले उक्त बीमा रकम शतप्रतिशत सही हो भन्ने देखाउन सक्कलीजस्तै देखिने डकुमेन्ट पठाउँछन् । सबै देखिसकेपछि मान्छे सजिलै त्यसमा विश्वास गर्ने रहेछन्," डाँगीले भने ।

यसरी नागरिकता लगायतका कागजात र बैंक अकाउन्टको विवरण पठाइसकेपछि स्क्यामरले नक्कली वकिलसँग पीडितको कुराकानी गराउँछन् । नक्कली वकिलले पनि नातेदार दाबी गर्ने केही प्रक्रिया रहेको र त्यसपछि सहजै नाता प्रमाणित हुने धारणा राख्छन् ।

दुईजना फरक व्यक्तिले यसरी आश्वासन दिएपछि श्यामको मनमा लड्डु फुटिरहेको हुन्छ । उनी त्याे पैसा कता लगानी गर्ने भन्ने योजना बनाइसक्छन् । सबै कागजात बनाइसकेपछि स्क्यामरले वकिलको खर्च भन्दै पीडितलाई तीन हजार डलर पठाउन अनुरोध गर्छन् ।

श्यामसँग त्यति रकम हुँदैन । त्यसैले उनी जसोतसो गरी एक लाख ३१ हजार रुपैयाँको रकम डलरमा परिणत गरी उनलाई पठाउँछन् ।

बाँकी स्क्यामरले बीमा रकमबाटै काट्ने सुनाउँछन् । स्क्यामर र श्यामको सधैँजसो कुरा भइरहेको नै हुन्थ्यो । कुन प्रक्रिया कहाँ पुग्यो भन्नेबारे श्याम अपडेटेड भइरहन्छन् ।

डीएसपी डाँगीले भने, "कानूनी कुराहरू धेरै बताउँदा मान्छे के गर्ने गर्ने हुन्छ । त्यसपछि यति रकम पठाउँदा उसले केही गर्न नपर्ने भनेपछि रकम दिन तयार हुने रहेछन् ।"

नाता प्रमाणितको काम सकियो भन्दै उनलाई पुनः अर्को मेसेज आउँछ । अबको केही दिनमा रकम घरमा आइपुग्नेमा श्याम विश्वस्त हुन्छन् । सबै ठीकठाक चलिरहेको हुन्छ । तर, त्यहाँ एउटा प्रक्रिया कमी भएको र त्यसलाई पूरा गर्नुपर्ने भन्दै पुनः सक्यामरको मेसेज आउँछ ।

स्क्यामरले श्यामलाई भन्सार शुल्कका लागि नौ हजार ९८० डलर तिर्नुपर्ने बताउँछन् । यो रकम नेपाली रुपैयाँमा हिसाब गर्दा १० लाख बढी हुन आउँछ ।

एक लाख तिर्न धौ धौ परेका श्यामलाई यतिका रकम पठाउन भनेपछि शंका लाग्छ र उनी प्रमाणसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् । उनले उजुरी दिइसकेपछि त्यसबारे अध्ययन भइरहेको डाँगी बताउँछन् । 

"यहाँबाट एक्कासी ठूलो रकम माग गरेपछि शंका लागेर उजुरी दिन आउनुभयो," डीएसपी डाँगीले भने, "अहिले  यसबारे अनुसन्धान गरिरहेका छौँ ।"

उक्त घटनाको अनुसन्धान भइरहेकाले त्यहाँ उल्लेख भएका अन्य विवरण उपलब्ध गराउन नसकिने डाँगीले बताए ।यस्ता प्रकृतिका स्क्यामबाट ठगिनेको सङ्ख्या बढिरहेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा यही प्रकृतिका तीन ओटा उजुरी आइसकेका छन् । भने, केहीले मौखिक रूपमा यस्ता मेसेज आएको प्रहरीलाई जानकारी दिएका छन् ।

समय सान्दर्भिक घटनालाई स्क्याममा जोडी ठगी गर्ने गिराेह नै सक्रिय भइरहेकाे डीएसपी डाँगीले बताए । 

''कुनै पनि व्यक्तिले पैसाको मोटो रकमको लोभ देखाएको छ भने त्यस्ता कुरामा सावधानी रहन जरुरी छ । यस्तो अवस्थामा घरपरिवार वा नजिकका जान्नेबुझ्ने मान्छेलाई आफूलाई आएका त्यस्ता मेसेजबारे जानकारी दिनुपर्छ । वा नजिककाे प्रहरी कार्यालयमा खबर गर्नुपर्छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ २१:२८