काठमाडौं । क्वालकमले सामान्य अक्षरकै सहयोगमा एन्ड्रोइड फोनमार्फत सेकेन्डभरमै एआई तस्वीर बनाउन सक्ने क्षमता प्रदर्शन गरेको छ । चिप निर्माता कम्पनीले एउटा एन्ड्रोइड फोन र स्टेबल डिफ्युजन (अक्षरहरूको सहयोगमा तस्वीर बनाउन सक्ने लोकप्रिय एआई मोडल) प्रयोग गरी कवच लगाएको योद्धा विरालोको ५१२ बाई ५१२ पिक्सेलको तस्वीर तयार पारेको थियो ।
यसका लागि क्वालकमले फोनमा स्टेबल डिफ्युजन १.५ रन गर्न आफ्नो एआई स्ट्याक प्रयोग गरिएको बताएको छ, जुन इन्टरनेटमा जोडिएको थिएन । तस्वीर तयार पार्न फोनले आवश्यक सम्पूर्ण एआई प्रक्रिया पूरा गरेको थियो । कम्पनीले शेयर गरेको भिडिओमा बिरालोको इआई तस्वीर बन्न केवल १५ सेकेन्डको समय लागेको थियो ।
स्टेबल डिफ्युजनले 'सुपर क्युट फ्लुफी क्याट वारियर इन आर्मर, फोटोरियलिस्टिक, फोरके, अल्ट्रा डिटेल्ड, भ्रेई रेन्डरिङ, अनरियल इन्जिन' प्रोम्प्ट प्रयोग गरी उक्त तस्वीर बनाएको थियो । यसरी केही सेकेन्डमै एआई तस्वीर बनाउने फोनमा क्वालकम स्न्यापड्रागन एट जेन टु चिपसेट प्रयोग गरिएको थियो, जुन सामसङ ग्यालेक्सी एस ट्वान्टी थ्री जस्ता फ्ल्यागशिप स्मार्टफोनमा पाउन सकिन्छ ।
परीक्षण अघि स्टेबल डिफ्युजन मोडललाई 'क्वान्टाइजेसन, कम्पाइलेसन र हार्डवेयर एक्सिलेरेसन' का लागि अप्टिमाइज गरिएको थियो । यद्यपि स्टेबल डिफ्युजनले एन्ड्रोइड फोनमा एआई तस्वीर बनाएको यो नै पहिलो उदाहरण भने होइन । द भर्जका अनुसार आईभन हाङ्ग नाम गरेका एक डेभलपरले यसका लागि क्वालकम स्न्यापड्रागन ८६५ तथा आठ जीबी र्याम रहेको सोनी एक्सपेरिया फाइभ सेकेन्डमा स्टेबल डिफ्युजन प्रयोग गरेका थिए ।
यद्यपि ह्वाङ्गलाई ५१२ बाई ५१२ पिक्सेलको तस्वीर तयार पार्न एक घण्टाको समय लागेको थियो । यस हिसाबले निश्चित रुपमा क्वालकमको तरिका ती डेभलपरले प्रयोग गरेको भन्दा निकै तीव्र रहेको छ ।
यस किसिमका एआई मोडल रहेका एन्ड्रोइड फोनले डेभलपरहरूको लागत जोगाउनुका साथै मोबाइल कनेक्सन नचाहिने र प्रयोगकर्ताको डेटा फोनमै रहने भएकाले गोपनीयताको रक्षा समेत हुनेछ ।
फ्ल्यागशिप एन्ड्रोइड फोनहरूमा यो मोडल कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा चाहिँ क्वालकमले कुनै कुरा खुलाएको छैन । कम्पनीले यो प्रविधिको डेमो यस वर्षको मोबाइल वर्ड कङ्ग्रेसमा प्रस्तुत गर्नेछ । सम्भवतः त्यसै बखत कम्पनीले यस विषयमा कुनै घोषणा गर्ने अपेक्षा गर्न सकिन्छ ।