close

‘राष्ट्रपति चुनावमा सित्तैमा भोटिङ मसिन दिन तयार छौँ, तर निर्वाचन आयोग प्रयोग गर्न मान्दैन’

टेकपाना टेकपाना

फागुन १३, २०७९ १२:१२

‘राष्ट्रपति चुनावमा सित्तैमा भोटिङ मसिन दिन तयार छौँ, तर निर्वाचन आयोग प्रयोग गर्न मान्दैन’

काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । देशले तेस्रो राष्ट्रपति पाउनै लाग्दा निर्वाचन भने पुरानै विधिबाट गर्ने तयारी भइरहेको छ ।

विगतका निर्वाचनमा पनि विद्युतीय भोटिङ मसिनले चर्चा पाउने गरेकाे थियो । तर अन्तिम समयमा निर्वाचन आयोगले भोटिङ मसिन प्रयोग नगर्ने निर्णय लिन्थ्यो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न राष्ट्रपति निर्वाचनका लागि पनि भोटिङ मसिन प्रयोगको सम्भावना सकिएकाे बताएका छन् ।

“पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको उपकरण प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न,” थपलियाले भने ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा कूल ८३१ मतदाता छन् । मतदान स्थलसमेत एउटै निर्धारण गरिएको छ ।सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुई ओटा मतदान केन्द्र रहने हुँदा भोटिङ मसिनको प्रयोग सम्भव देखिएको थियो ।

तर आयोगका अधिकारीहरूले उपकरण पुराना भएका, भएका उपकरण प्रमाणीकरण नभएका भन्दै मतपत्र छाप्ने तयारीमा जुटेको छ ।

तर अर्कोतर्फ नेपालमै विद्युतीय भोटिङ मसिन विकास गर्दै आएको कम्पनी राम-लक्ष्मण इनोभेसन्सका सञ्चालक भने नयाँ प्रविधि प्रयोग गर्न आयोग नै अनिच्छुक रहेको बताउँछन् ।

“हामीले नेपालमै बनाएका उपकरणलाई उहाँहरू (आयोग) ले उपेक्षा मात्रै गर्नुहुन्छ,” सो कम्पनीका संस्थापक एवं निर्देशक रामप्रसाद रिमालले भने ।

आफूहरुले बनाएका उपकरण अन्तर्राष्ट्रियस्तरको भएको र विभिन्न विधिबाट प्रमाणीकरण भएको प्रमाण दिएपनि बेवास्ता गरेको उनको आरोप छ ।

“कि त नेपालमै उपकरण प्रमाणीकरण गर्ने निकाय यो हो भन्दिनुपर्‍याे, नत्र हामीले उपकरणको हार्डवेयर र सफ्टवेयर दुवैको प्रमाणीकरण अन्तर्राष्ट्रिय स्तरबाट गरेका छौँ । त्यो प्रमाण हामीले उहाँहरूलाई नै दिएका छौँ,” उनले भने ।

यसअघि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बेलामा पनि भोटिङ मसिनको चर्चा आएको थियो । तर निर्वाचन आयोगले सम्भाव्यता अध्ययन गरेर अन्तिम समयमा विद्युतीय भोटिङ मसिन प्रयोग नगर्ने निर्णय गरेको थियो ।

“हामीले प्रतिनिधिसभामा कम्तीमा एउटा क्षेत्रमा विद्युतीय भोटिङ मसिन प्रयोग गरौँ भनेका थियौं । तर उहाँहरूले अहिले सकिएन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रयोग गरौँला भनेर वचन दिनुभयो । तर अहिले फेरि कुरा फेर्नुभएको छ,” रिमालले भने ।

निर्वाचनका लागि सित्तैमा भोटिङ मसिन हस्तान्तरण गर्ने प्रस्ताव राखेपनि निर्वाचन आयोगले अस्वीकार गरेको उनको भनाइ थियो ।

“हामीले निःशुल्क उपलब्ध गराउँछौं भनेर चिठी नै दिएका छौँ,” उनले भने, “उपकरणको प्रमाणीकरण भएको प्रमाणसहित आयोगका प्रमुख निर्वाचन आयुक्त र सचिवज्यूलाई चिठी दिएका हौँ । त्यतिबेला हामीले त भोटिङ मसिन प्रयोग गर्न खोजेकै हो, राजनीतिक दलले मानेनन् भन्नुभयो । तर मिडियामा आएर भोटिङ मसिनको प्रमाणीकरण नभएर प्रयोग गर्न सकिएन भनेर बोल्नुभयो ।”

“हामीले उपकरणको हार्डवेयरका लागि युरेपियन स्ट्यान्डर्डको सीई सर्टिफिकेट लिएका छौँ । त्यस्तै थर्ड पार्टीबाट सफ्टवेयरको भीएपीटी (भल्नरेबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्ट) गरिएको छ,” उनले अगाडि भने, निर्वाचन आयोगले न आफूले उपकरणको भेरिफाई गर्छ, न प्रमाणीकरण निकाय तोकिदिन्छ । हामीले प्रमाणीकरण गरेको प्रमाणसहित चिठी दिँदा पनि बेवास्ता गर्छ र पब्लिकमा उपकरण प्रमाणीकरण नभएकाले प्रयोग गर्न सकेनौँ भन्छ ।”

उनले विद्युतीय भोटिङ मसिनमा निर्वाचन आयोगको अविश्वास रहेसम्म परिवर्तन हुन नसक्ने जिकिर गरे ।

“हाम्रो उपकरण जतिले प्रयोग गरेका छन्, मन पराएका छन्,” उनले भने, “तर निर्वाचन आयोग भने अस्पष्ट कारण देखाउँदै पन्छिने गरेको छ ।”

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम एकपटक पुनः प्रस्ताव लिएर आयोगकहाँ जाने तयारी गरिरहेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०७९ १२:२७