‘राष्ट्रपति-प्रधानमन्त्रीले निःशुल्क पासपोर्ट पाउँछन्, जनताले १ लाखसम्म खर्च गर्नुपर्ने ?’
फागुन १३, २०७९ १५:५
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जनताले राहदानी बनाउ एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले राहदानीका लागि सेवाग्राहीले अनावश्यक खर्च गर्नुपरेकाे विषय उठाए ।
''नेपाली जनताका छोराले पासपोर्ट पाउनका लागि एक महिना पर्खिनुपर्ने बाध्यता छ । हुम्ला, जुम्ला, कालिकोट, ताप्लेजुङ, तेह्रथुम, सोलुका मान्छेहरूले पासपोर्ट लिनका लागि आज लाख रुपैयाँ बढी खर्च गर्नुपर्ने बाध्यता सिर्जना भएको छ," उनले भने ।
सरकारले पासपोर्ट छपाई गर्दा हजार रुपैयाँदेखि १४ सय रुपैयाँ लाग्ने र बनेको पासपोर्ट वितरण गर्दा २० हजारसम्म लिने पद्धतिको अन्त्य कहिले हुन्छ भन्दै उनले प्रश्न उठाए ।
त्यस्तै सांसद खतिवडाले रातो पासपोर्ट निःशुल्क वितरण गर्नु जनताप्रति अन्याय गर्नु सरह भएको धारणा राखे ।
उनले भने, "पासपोर्ट वितरण गर्दा देशका प्रतिष्ठित व्यक्तिले रातो पासपोर्ट पाउँछन् । यो वर्ष ३१० जनाले रातो पासपोर्ट पाएका छन् । तर, रातो पासपोर्ट वितरण गर्दा सरकारले कुनै शुल्क लिने गरेको छैन । राष्ट्रपतिले पासपोर्ट लिँदा पैसा तिर्नु नपर्ने । प्रधानमन्त्रीले पासपोर्ट लिँदा पैसा तिर्नु नपर्ने । मन्त्रीले पासपोर्ट लिँदा पैसा तिर्नु नपर्ने । तर एउटा गरिबले पासपोर्ट लिँदा एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने पद्धति कहिले अन्त्य गर्ने ?"
जनताबाट पासपोर्टका लागि चर्को मूल्य असुलेको भन्दै रातो पासपोर्ट वितरण गर्दा पनि शुल्क लिने व्यवस्था ल्याउन उनले माग राखे ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०७९ १५:४६
