close

नोकियाले ल्यायो ३ नयाँ स्मार्टफोन, टिकाउदेखि आफैँ मर्मत गर्न सकिनेसम्मका छुट्टाछुट्टै विशेषता

टेकपाना टेकपाना

फागुन १५, २०७९ ११:४४

नोकियाले ल्यायो ३ नयाँ स्मार्टफोन, टिकाउदेखि आफैँ मर्मत गर्न सकिनेसम्मका छुट्टाछुट्टै विशेषता

काठमाडौं । नोकिया फोन निर्माता कम्पनी एचएमडी ग्लोबलले दुई सिरिजका तीन स्मार्टफोन सार्वजनिक गरेको छ । मोबाइल वर्ल्ड कंग्रेस २०२३ को अवसरमा कम्पनीले कम्पनीले नोकिया सी२२, सी३२ र जी२२ फोन सार्वजनिक गरेको हो ।

हरेक फोन आफैँमा भिन्नाभिन्नै विशेषता भएका छन् । हामीले यहाँ तीनै मोडेलका फोनको बारेमा चर्चा गरेका छौँ । कम्पनीका अनुसार जी२२ प्रयोगकर्ता आफैँले मर्मत गर्न सकिने विशेषता युक्त छ, सी ३२ गुणस्तरीय फोटो र सी २२ टिकाउपनमा केन्द्रित छ ।

 

नोकिया जी२२

नोकिया जी२२ को बारेमा कुरा गर्नुपर्दा कम्पनीले यो मोडल प्रयोगकर्ता आफैँले मर्मत गर्न सक्नेगरी डिजाइन गरेको छ । यसका लागि कम्पनीले आईफिक्सिट नामक कम्पनीसँग सहकार्य गरेको छ । यसको माध्यमबाट प्रयोगकर्ताले कसरी मर्मत गर्न सकिन्छ भन्ने कुराको जानकारी र आवश्यक विभिन्न सामग्री जस्तै स्क्रिन, ब्याट्री तथा चार्जिङ पोर्ट पाउन सक्नेछन् ।

आईफिक्सिट डटकमबाट पाँच पाउन्ड (करिब सात सय ८६ रुपैयाँ) मा होम किट खरिद गर्न सकिन्छ । त्यसबाहेक आवश्यक विभिन्न पाटपुर्जा पनि सोही वेबसाइटबाट खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार जी२२ मोडेलमा दुई वर्षको अपरेटिङ सिस्टम अपडेट र तीन वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध हुनेछ । यो मोडलमा ४ जीबी र्‍यामको साथमा ६४ जीबी र १२८ आन्तरिक मेमोरी भेरियन्ट उपलब्ध हुनेछ ।

६.५ इञ्च एचडी एलसीडी स्क्रिन भएको यो फोन युनिसक टी ६०६ प्रोसेसरबाट सञ्चालित छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने दुई मेगापिक्सेलको अल्ट्रावाइड र तीन मेगापिक्सेलको डेफ्थ सेन्सर रहेको छ । आईपी ५२ रेटिङ प्राप्त यो फोनमा ५०५० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसलाई चार्ज गर्न कम्पनीले २० वाटको तारवाला चार्जर उपलब्ध गराएको छ । त्यस्तै फोनको साइडमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ ।

 

नोकिया सी ३२

कम्पनीले सार्वजनिक गरेको अर्को मोडलको स्मार्टफोन हो, नोकिया सी३२ । यो फोन गुणस्तरीय फोटो खिच्ने कार्यमा केन्द्रित रहेको कम्पनीको दाबी छ । यसको पछाडि भागमा दुई ओटा क्यामेरा राखिएका छन् । जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र तीन मेगापिक्सेलको म्याक्रोसेन्सर रहेका छन् ।

कम्पनीले यो मोडलमा आधुनिक स्मार्टफोनको अनुभव दिन अत्याधुनिक सफ्टवेयर उपलब्ध गराएको दाबी गरेको छ ।

र्‍यामको सन्दर्भमा भने यो फोन केही पछाडि नै छ। कम्पनीले यसमा दुई जीबी र तीन जीबी र्‍यामको विकल्प दिएको छ भने ६४ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ ।

फोन १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसरबाट सञ्चालित छ । ६.५ इञ्च एचडी प्लस एलसीडी डिस्प्ले रहेको यो सी ३२ फोनले आईपी ५२ रेटिङ पाएको छ । यसमा ५,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । त्यसलाई चार्ज गर्न १० वाटको चार्जर उपलब्ध गराएको छ । जी२२ जस्तै यो मोडलको पनि छेउमा फिङ्गरप्रिन्ट स्क्यानर रहेको छ ।

 

नोकिया सी२२

कम्पनीले टिकाउ फोनको रुपमा परिभाषित गरेको सी २२ मोडेलले विभिन्न फल टेस्ट (अग्लो ठाउँबाट भुइँमा फोन खसालेर गरिने परीक्षण) सहजै पार गरेको छ । आईपी ५२ रेटिङ पाएको यो मोडेलमा २.५ डी डिस्प्ले छ भने पछाडिको कभर र छेउ धातुले ढाकिएको छ ।

पोलिकार्बोनेट बडी डिजाइन भएको यो फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो लेन्स राखिएको छ ।

नोकियाको सी२२ एन्ड्रोइड १३ मा आधारित छ भने मिडनाइट ब्ल्याक वा स्यान्ड कलरको विकल्पमा यसलाई पाउन सकिन्छ । यो मोडल पनि सी३२ जस्तै दुई जीबी र तीन जीबी र्‍याम भेरियन्ट तथा ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुनेछ ।

 

मूल्य

कम्पनीका अनुसार जी २२ मोडल बेलायतमा मार्च ८ सम्म उपलब्ध हुनेछ । जसको मूल्य १४९.९९ पाउन्ड स्टर्लिङ (करिब २३ हजार ६४७ रुपैयाँ) पर्नेछ ।

कम्पनीले वेबसाइटमा राखेको मूल्य अनुसार सी ३२ र सी २२ को मूल्य क्रमशः १२९.९९ पाउन्ड स्टर्लिङ (करिब २० हजार ४७७ रुपैयाँ) र १०९.९९ पाउन्ड स्टर्लिङ (करिब १७ हजार ३०६ रुपैयाँ) रहेको छ । 

यी तीन मोडेल सार्वजनिक गरेसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ । तर यी मोडेलमा भने कम्पनीको पुरानै लोगो राखिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ ११:४४