close

नकारात्मक कमेन्ट आएपछि गायिका समीक्षा अधिकारीको फेसबुक अकाउन्ट डिएक्टिभ

टेकपाना टेकपाना

फागुन १५, २०७९ २०:१०

नकारात्मक कमेन्ट आएपछि गायिका समीक्षा अधिकारीको फेसबुक अकाउन्ट डिएक्टिभ

काठमाडौं । गायिका समीक्षा अधिकारी सामाजिक सञ्जाल फेसबुकबाट एकाएक गायब भएकी छिन् । करिब एक लाख १८ हजार बढी फलोअर भएको उनको आधिकारिक फेसबुक अकाउन्ट डिएक्टिभ छ ।  

सञ्चार माध्यममा आइतबार अभिनेता पल शाह रिहाइ हुने समाचार बाहिरियो । उक्त समाचार बाहिरिएपछि गायिका अधिकारीको अकाउन्ट खोजेर त्यसमा भएका पोस्टमा नानाथरिका नकारात्मक कमेन्टहरूको वर्षा हुन थालेको थियो ।

त्यससँगै गायिका अधिकारीले आफ्नो आधिकारिक फेसबुक अकाउन्ट डिएक्टिभ गरेको आशंका छ । उनका टिकटक लगायतका अन्य सामाजिक सञ्जालका अकाउन्ट भने सक्रिय नै छन् ।

विशेषगरी टिकटकमा बढी सक्रिय हुने गायिका अधिकारीले आफ्नो टिकटक तथा इन्स्टाग्राम अकाउन्ट यथावत नै राखेकी छिन् । तर, भेरिफाइड ब्याच (ब्लु टिक) पाइसकेकको उनको फेसबुक अकाउन्ट भने पल शाह रिहाइ हुने खबर बाहिरिएपछि एकाएक हराएको हो ।

नाबालिका गायिका अधिकारीमाथि बलात्कार गरेको उजुरी परेपछि एक वर्ष अघि पक्राउ परेका शाह उच्च अदालत पोखराको आदेशमा सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् ।

बलात्कारको अभियोगमा पक्राउ परेपनि गायिका अधिकारीले नै बयान फेरेपछि शाहले यौन दुरुपयोग गरेको भन्दै पुर्पक्षका लागि कारागार पठाइएको थियो । उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै अदालतले सफाइ दिएको हो । 

सामाजिक सञ्जाल फेसबुकमा 'समीक्षा अधिकारी' शब्द ‘पपुलर नाउ’मा परेको छ । अर्थात् उक्त शब्द फेसबुकमा अत्यधिक खोजिएको छ । उनका नाममा भएका कयौँ अनधिकृत फेसबुक पेज तथा अकाउन्टमा नकारात्मक प्रतिक्रियाको बाढी नै देख्न सकिन्छ ।

यसअघि पनि गायिका अधिकारीले नकारात्मक कमेन्ट गर्नेमाथि साइबर अपराधको मुद्दा हाल्ने बताएकी थिइन् । साइबर ब्यूरोले पनि आन्तरिक रूपमा गायिका समीक्षा अधिकारीका सामाजिक सञ्जालका अकाउन्टमा निगरानी राखेको उल्लेख गरेको थियो ।

सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रिया र ट्रोलका कारण आफू मानसिक तनावमा परेको बताउँदै आएकी अधिकारीको आधिकारिक अकाउन्ट एकाएक किन हरायो भन्ने कुराको आधिकारिक सूचना आइसकेको भने छैन ।

केही दिन अघि मात्र टिकटक लाइभमा गायिका अधिकारीसँग जोडिन आएका एक अपरिचित व्यक्तिले उनीमाथि अपशब्द प्रयोग गर्दै बेइज्जत गरेका थिए । टिकटकको सो क्लिप राखेर समेत उनीमाथि मानसिक तनाव दिने क्रम बढेको छ । 

 अपडेट: गायिका अधिकारीको डिएक्टिभ गरिएको अकाउन्ट भर्खरै पुनः सक्रिय भएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ २१:१७