close

स्वास्थ्य क्षेत्रमा कहाँ-कहाँ प्रयोग भइरहेको छ एआई ?

टेकपाना टेकपाना

फागुन १८, २०७९ १४:१६

स्वास्थ्य क्षेत्रमा कहाँ-कहाँ प्रयोग भइरहेको छ एआई ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग सबै क्षेत्रमा उत्तिकै बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि उपचारदेखि बिरामी हेरचाहसम्म एआई प्रयोग भइरहेकाे छ ।

आउँदा दिनमा यसको प्रयोग अझ बढेर जाने अनुमान गर्न सकिन्छ । यसैबीच आज हामी स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग कसरी भइरहेकाे छ भन्ने सन्दर्भमा जानकारी प्रस्तुत गर्दै छौँ: 

सीटी स्क्यानमा तस्वीरको गुणस्तर बढाउन

अस्पतालको रेडियोलोजी विभागले बिरामीको शरीर जाँचका क्रममा कम्प्युटेड टोमोग्राफी (सीटी) बाट तस्वीरहरू निकाल्ने गर्छ । यो एक इमेजिङ मोडालिटी प्रविधि हो ।

यसै प्रविधिमा एआई प्रयोग भएपछि रेडियोलोजी विभागलाई काम गर्न धेरै सजिलो भएको छ । यसमा भएको एआईले सीटीको कार्यक्षमता र तस्वीरहरूको गुणस्तरलाई बढाउने काम गर्छ । 

सीटी स्क्यानबाट बिरामीको जाँच गर्दा बसाइँ मिलेन भने विकिरणले उसको शरीरमा असर गर्ने खतरा सधैं हुने गर्छ । त्यसो हुँदा तस्वीर पनि राम्रो आउँदैन ।

तर सीटीमा एआईयुक्त क्यामेराले बिरामीलाई राख्ने ठाउँ स्वतः निर्धारण गर्छ । त्यसले विकिरणको समस्या निकै कम गर्छ । त्यस्तै एआईयुक्त ‘इमेज रिकन्ट्रक्सन’ले विकिरणको मात्रा घटाई गुणस्तरीय तस्वीर निकाल्न सहयोग पुर्‍याउँछ ।

एमआरआईमा तस्वीर निकाल्ने समय कम गर्न

म्याग्नेटिक रिसोनेन्स (एमआर) अर्को इमेजिङ मोडालिटी हो । यसले पनि स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ । विशेष गरेर बिरामीलाई छोटो समयभित्र स्क्यान गर्न र उपचारको समय घटाउनमा एमआरको प्रयोग बढ्दो छ ।

एमआरआई जाँचमा एआई प्रयोगले चिकित्सकलाई सजिलो हुनुका साथै सेवाशुल्क पनि घटेको छ, जसले गर्दा बिरामीलाई पनि कम मर्का पर्छ । 

अल्ट्रासाउन्डमा म्यानुअल काम हटाउन

कार्डियक केयरमा अल्ट्रासाउन्ड गर्नु एक उपचार पद्धति हो । पहिले अल्ट्रासाउन्ड गर्दा धेरै कुराहरु हातैले गर्नुपर्ने अवस्था थियो । त्यसो हुँदा हरेक चाल एउटा परीक्षा सरह हुन्थ्यो ।

तर एआईयुक्त ‘अटोमेटिक मेजरमेन्टस’ले त्यो दुर्घटनाको सम्भावनालाई कम गरेको छ । 

रेडियोलोजिस्टलाई छिटो र ठीकसँग तस्वीरपढ्नका लागि मद्दत गर्न

शरीरकाे अङ्ग स्क्यान गर्दा प्राप्त हुने तस्वीरको गुणस्तर बढाउन मात्र होइन, एआईले रेडियोलोजिस्टलाई ती तस्विरहरु छिटो र ठीकसँग पढ्न पनि मद्दत गर्छ ।

कतिपयले एआईलाई रेडियोलोजिस्टको तेस्रो आँखाका रुपमा लिने गरेका छन् । रेडियोलोजिस्टले एआईलाई निर्णय लिन, गल्ती परीक्षण गर्न प्रयोग गर्ने गरेका छन् । 

उपकरण मर्मतकाे समय पहिचान गर्न

कुन मसिन वा उपकरण कतिबेला मर्मत गर्नुपर्छ भन्ने कुरा पत्ता लगाउन धेरै अस्पतालले एआई टुल प्रयोग गरेका छन् । हुन त फिजिसियन वा अस्पतालका कर्मचारीहरूले सो कुरा गर्ने भएपनि समय धेरै लाग्ने हुन्छ । तर एआईको प्रयोगले एकैपटक धेरै मसिन जाँच गर्न सकिन्छ ।

हाल एउटा एमआर मसिनमा भएको ५०० बढी पारामिटरहरुको जाँच र निरीक्षण गर्न एआई प्रयोग गरिन्छ । त्यसो हुँदा ३० प्रतिशत हार्डवेयरहरूमा समस्या आउनुअघि पहिचान हुने अध्ययनले देखाएका छन् ।

रोगको प्रारम्भिक चरण पत्ता लगाउन

हामीमध्ये धेरै जान ठूलो रोग लागेमात्र अस्पताल जाने गर्छौँ । त्यसो हुँदा हामी धेरै ढिलो भइसकेका हुन सक्छौँ ।

तर कतिपय अस्पतालहरूमा रोगको प्रारम्भिक चरण पत्ता लगाउन एआई प्रयोग भइरहेको छ । हुन त यसका लागि म्यानुअल्ली परीक्षण पनि हुने गरेका छन् । तर त्यसमा धेरै मानवीय त्रुटि हुन सक्छ ।

एआईले विभिन्न संकेतहरूको अध्ययन गरेर कुनै पनि रोगको प्रारम्भिक चरण पत्ता लगाउन सक्छ । यसबाट क्यान्सर, हृदयरोगजस्ता दीर्घकालीन रोग समयमै पत्ता लाग्न सक्छ । ​

यसका साथै एआईको प्रयोगबाट धेरै स्रोतहरुको डेटा एकै ठाउँमा राखेर बिरामीको परीक्षण र निरीक्षण गर्न सकिन्छ । जस्तो; कुनै एउटा रोग वा अङ्गको मात्र नभई धेरै पक्षहरुको अध्ययन गर्न सकिन्छ । यसबाट चिकित्सकहरुलाई एउटा मात्र नभई धेरै पक्षबाट निर्णय लिन सहयोग पुग्छ ।

उदाहरणका लागि, क्यान्सर उपचारको क्रममा एआईले शरीरका विभिन्न अङ्गहरुको स्वास्थ्य रिपोर्टलाई एकै ठाउँमा राखेर पूर्ण डेटा तयार पार्छ । जसलाई हेरेर चिकित्सकले निर्णय लिन सक्छन् ।

फिलिप्स डटकम ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ १४:२८