close

इन्टरनेटमा भाइरल ‘काचा बदाम’ गायकको यस्तो बिजोग !

टेकपाना टेकपाना

फागुन २५, २०७९ १५:५९

इन्टरनेटमा भाइरल ‘काचा बदाम’ गायकको यस्तो बिजोग !

काठमाडौं । इन्टरनेटमा भाइरल हुने व्यक्तिको जीवन कतिबेला कुन मोडमा पुग्छ भन्न सकिँदैन । यसरी भाइरल हुने व्यक्ति सफल र असफल भएका कैयन् घटना हाम्रै अगाडि छन् । काेही आफ्नै कारण सफलताको चुचुरोमा पुग्छन्, काेही सफलताको चुचुरोबाट तल झर्छन् ।

अहिले एउटा यस्तै घटना बाहिर आएको छ । भारतको पूर्वी बङ्गालको बिरभूम जिल्लाको दुब्राजपुर भन्ने ठाउँ बस्ने भुवन बाड्याकर एक सामान्य ठेला व्यापारी थिए । ठेलामा बदाम बिक्री गरेर आफ्नो जीवनयापन धानिरहेका उनी बदाम बिक्री गर्दा गीत गाउँथे ।

उनले गीत गाउँदै बदाम बिक्री गर्ने यो शैली धेरैलाई मन पर्‍यो । त्यसपछि केही व्यक्तिले उनले गीत गाएको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्छन् । त्यसपछि त के चाहियो ! उनलाई देश विदेशका मान्छेहरूले पछ्याउन थाले ।

यसरी एक सामान्य ठेला व्यापारी रातारात सेलिब्रेटी भए । केही व्यक्ति मिलेर उनको सो गीत रेकर्ड गर्छन् । र, ५ फेब्रुअरी २०२२ मा युट्युबमा राख्छन् । भिडिओ युट्युबमा राखेपछि टिकटक, फेसबुक तथा इन्स्टाग्राममा म्युजिक सहितको 'काचा बदाम' गीत भाइरल बन्याे ।

गीत भाइरल भएपछि भुवनलाई विभिन्न कन्सर्ट, कार्यक्रमबाट निमन्त्रणा आउँछ । उनी त्यस्ता कन्सर्ट तथा कार्यक्रममा गएर गीत गाउँदै पैसा कमाउँछन्, घर बनाउँछन्, चार पाङ्ग्रे गाडी खरिद गर्छन् ।

उनको जीवन राम्रै चलिरहेको हुन्छ । त्यही बेला उनको जीवनमा एक व्यक्ति आउँछन् । 'गोधुली बेला म्युजिक' युट्युब च्यानलका निर्देशक गोपाल घोषले भुवनलाई फकाएर एउटा दस्तावेजमा हस्ताक्षर गर्न लगाउँछन् ।

यो त्यही युट्युब च्यानल हो, जसका लागि भुवनले पहिलो पटक 'काचा बदाम गीत गाएका थिए । भुवनका अनुसार गोपालले भुवनलाई नयाँ गीतको अफर भएको भन्दै उक्त दस्ताबेजमा हस्ताक्षर गर्न लगाएका थिए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत आम्दानी भुवनले राख्ने र ४० प्रतिशत आम्दानी कम्पनीले राख्ने भनिएको हुन्छ ।

हस्ताक्षर गरिसकेपछि भुवनलाई तीन लाख भारु दिइन्छ । र, बाँकी पैसा गीत रेकर्ड भएपछि दिने प्रतिबद्धता दिइन्छ । तर, दस्तावेजमा उनको 'काचा बदाम' गीतको कपिराइटको खरिद गर्ने कुरा उल्लेख हुन्छ ।

सो दस्तावेज अङ्ग्रेजीमा लेखिएकाले भुवन केही पढ्न जान्दैनन् । "मलाई अङ्ग्रेजी पढ्न आउँदैन । गोपाललाई विश्वास गरेर मैले हस्ताक्षर गरेको थिए । तर, उनले मबाट कपिराइट खरिद गरेका रहेछन्," भुवनले स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भनेका छन् ।

यही कपिराइटका कारण उनलाई विभिन्न कार्यक्रम तथा कन्सर्टमा बोलाउन छाडियो । उनको गीतको भिडिओ राख्ने जोकोहीलाई कपिराइट लाग्न थाल्यो ।

उनी आफैंले भिडिओ रेकर्ड गरेर राख्न खोज्दा कपिराइट लाग्छ । अहिले गीतबाट केही नहुने भएपछि पुनः ठेलामा बदाम बिक्री गर्न थालेका छन् । केही स्थानीय सञ्चारमाध्यमले भुवन प्रहरीकहाँ गएको कुरा पनि उल्लेख गरेका छन् । तर, यसबारे आगामी प्रक्रिया वा काम कारबाही के हुन्छ भन्ने हालसम्म खुलेको छैन ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ १५:५९