काठमाडौं । अनलाइनबाट गिफ्ट पठाइदिने लोभ देखाई १५ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिकाकी ३६ वर्षीया अञ्जुली बिसुन्के रहेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित बिसुन्केले अनलाइनमा एक विदेशी पुरुषको नाममा नक्कली अकाउन्ट बनाई विभिन्न व्यक्तिलाई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आफू इङ्गल्यान्डको नागरिक (पुरुष) हो, मेरो श्रीमतीको मृत्यु भइसकेको छ भन्दै उनले पीडित (उजुरीकर्ता) लाई नेपाल आएर (उजुरीकर्तासँग ) बिहे गर्ने आश्वासन दिइन् । त्यसपछि पीडितको ह्वाट्सएपमा जोडिएर च्याट गर्न थाल्छिन् । कुरा हुँदै जाँदा उनले पीडितलाई गिफ्ट पठाइदिने आश्वासन दिन्छिन् । जसमा आईफोन, सुनका गरगहना, जुत्ता, ब्याग र ६० हजार डलर भएको भन्दै गफ दिन्छिन् ।
पीडित पनि यस्ता गिफ्ट पाउने भएपछि दङ्ग हुन्छिन् । अन्जलीले ठेगाना समेत मागेर कुरियरमार्फत गिफ्ट पठाएको भनेपछि पीडित विश्वस्त हुन्छिन् ।
यही विभिन्न प्रयोजनका लागि पीडितबाट विभिन्न व्यक्तिहरूको नाममा पटकपटक गरी १५ लाख २० हजार रुपैयाँ ठगी गरेको उनीमाथि आरोप लागेकाे छ । पीडितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी कार्य सुरु गर्दा बिसुन्के पक्राउ परेकी हुन् ।
पक्राउ परेकी अन्जलीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।