close

तपाईं हामीसामु यसरी आइपुग्छ क्रिकेटको लाइभ

टेकपाना टेकपाना

चैत २, २०७९ १०:४३

तपाईं हामीसामु यसरी आइपुग्छ क्रिकेटको लाइभ

काठमाडौं । आईसीसी वर्ल्डकप लिग टु अन्तर्गत आज अन्तिम खेल नेपाल र यूएईबीच भइरहेको छ । लिगको शीर्ष तीनमा रही विश्वकप क्वालिफायरमा सिधै प्रवेश पाउन नेपालका लागि यो खेल जित्नैपर्ने हुन्छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे याे खेलकाे कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गरिरहेकाे छ ।

यसरी मैदानमा भइरहेको खेल कसरी प्रत्यक्ष रुपमा हामीसमक्ष केही सेकेन्डमै आइपुग्छ त भन्ने विषयमा धेरै जनाको जिज्ञासा हुनसक्छ । यदि तपाईंको पनि यस्तै जिज्ञासा छ भने आज हामी त्यसलाई मेटाउने कोसिस गर्दैछौँ ।

कुनै पनि क्रिकेट म्याच राम्रोसँग लाइभ गर्न धेरै क्यामेराहरुको आवश्यकता पर्छ । त्यसैले गेम लाइभ गर्नुभन्दा पहिले क्रिकेट मैदानमा २५ देखि ३० वटा क्यामेराहरु राखिन्छ, जसमा सबै क्यामेराको आ-आफ्नै काम हुन्छ ।

कुनै क्यामेराले बलरलाई पछ्याउने गर्छन् भने कुनैले ब्याट्सम्यान, बलर र फिल्डरलाई । केही क्यामेरा दर्शकहरुको दृश्य खिच्न प्रयोग गरिन्छ । केहीले टिमका अफिसियललाई खिच्छन् । यसरी क्यामेराहरूले दर्शकलाई गेम हेर्ने चाहिने सबै एङ्गलबाट भिडिओ खिच्छन् ।

अहिले क्रिकेटका लाइभ म्याचहरुमा ड्रोन तथा फलाइङ क्यामेराको प्रयोग पनि बढिरहेको छ, जसले अझ लाइभ मनमोहक बनाएका छन् । यसपछि एडिटिङको काम सुरु हुन्छ । कन्ट्रोल रुममा एडिटिङको लागि छुट्टै टिम हुन्छ, जसलाई विभिन्न समूहमा बाँडिएको हुन्छ ।

यी टिमको काम पनि फरक-फरक हुन्छ । कसैले ग्राफिक्स तथा एनिमेसनको काम गर्छन् भने कसैले भिडिओ तथा अडियो एडिट गर्छन् । कसैले खेलाडीको पछिल्लो नतिजाहरु तथा रेकर्डहरु देखाउने काम गर्छन् ।

कमेन्ट्री तथा स्कोर अपडेटका लागि पनि छुट्टै टोली खटिएको हुन्छ । यो सबै ग्रुपबाट आएको जानकारीलाई एउटा छुट्टै ग्रुपले कुन समय कुन भिडिओ देखाउने तथा भिडिओमा के के राख्ने कुराको टुङ्गो लगाउँछ र भिडिओमा कमेन्ट्री मिलाएर टिभी मोबाइल तथा कम्प्युटर स्क्रिनसम्म पुग्छ ।

यसमा सबै टिमले एक साथ काम गर्छन्, जसको फलस्वरुप अडिओ, भिडियो र कमेन्ट्रीसहित विभिन्न माध्यमको प्रयोग गरेर हामीसामु लाइभ आइपुग्छ । यो सबै काम केही सेकेन्डमा नै भइरहेको हुन्छ । क्रिकेटजस्तै अन्य खेलको प्रत्यक्ष प्रसारण पनि प्रायः यसैगरी हुनेगर्छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १०:४८