close

स्टारलिङ्कले सुरु गर्‍यो ग्लोबल रोमिङ, अब दुर्गमको यात्रामा जाँदा पनि इन्टरनेट चलाउन पाइने

टेकपाना टेकपाना

चैत २, २०७९

स्टारलिङ्कले सुरु गर्‍यो ग्लोबल रोमिङ, अब दुर्गमको यात्रामा जाँदा पनि इन्टरनेट चलाउन पाइने

काठमाडौं । विश्व धनाढ्य एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले ग्लोबल रोमिङ विकल्प दिन सुरु गरेको छ । कम्पनीले अविश्वसनीय तथा पूर्णतः सञ्चार सम्पर्क नरहेका स्थानमा यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै यस्तो सुविधा ल्याएको हो ।

यससँगै स्टारलिङ्कको सेवा उपलब्ध भएका स्थानहरूमा ग्राहकहरूले अनलिमिटेड हाई-स्पिड तथा लो-लेटेन्सी इन्टरनेट आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछन् । स्टारलिङ्क रोम नाम दिइएको यो स्थिर अवस्थामा मात्र नभएर गतिशील अवस्थामा समेत प्रयोग गर्न सकिने बताइएको छ ।

यसका लागि सवारी साधनमा स्थायी किसिमले इन्स्टल गर्न तथा कठिन वातावरणमा समेत प्रयोग गर्न सकिनेगरी हार्डवेयरको डिजाइन गरिएको छ । हालका लागि यो सेवा अर्डर गर्न र प्रयोग निश्चित बजारमा मात्रै उपलब्ध रहेको छ ।

पोर्टेबल प्रयोगका लागि डिजाइन गरिएको स्यान्डर्ड स्टारलिङ्कको हार्डवेयर कम्पनीको कभरेज रहेका स्थानमा सजिलै सेटअप गरी केही मिनेटमै इन्टरनेट सेवा प्रयोग गर्न सकिने बताइएको छ । यसबाट दुर्गम क्षेत्रमा गएर समेत काम गर्न सकिने र खेल्न सकिने भएको छ ।

स्टारलिङ्क रोमले आफ्नो अनुकूलताअनुसार कुनै पनि समयमा पज तथा अन-पज (चाहिने समयमा प्रयोग गर्ने र नचाहिएको समयमा प्रयोग नहुनेगरी) गर्न सकिने किसिमको छ । महिनामा एक पटक बिलिङ तयार पारिने यो सेवालाई प्रयोगकर्ताले आफ्नो व्यक्तिगत यात्राको आवश्यकता अनुसार कस्टमाइज गर्न सक्नेछन् ।

स्टारलिङ्कले यसै वर्षदेखि नेपालमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । तर त्यसका लागि नेपालको कानून बाधक बनेको छ । 

पछिल्लो अध्यावधिक: चैत २, २०७९