close

अनुसन्धानमा च्याटजीपीटी प्रयोग गरी किशोरीले जितिन् दुई करोड ३१ लाख नगद

टेकपाना टेकपाना

चैत २, २०७९ १३:५०

अनुसन्धानमा च्याटजीपीटी प्रयोग गरी किशोरीले जितिन् दुई करोड ३१ लाख नगद

काठमाडौं । अमेरिकाकी एक विद्यार्थीले एआई टुल च्याटजीपीटी प्रयोग गरी एक लाख ७५ हजार अमेरिकी डलर (करिब दुई करोड ३१ लाख रुपैयाँ) जितेकी छन् । नर्थन भर्जिनिया हाई स्कुलकी विद्यार्थी इमिली ओकासियोले हालै भएको ‘रेजेनेरोन साइन्स ट्यालेन्ट सर्च’ प्रतियाेगितामा दोस्रो स्थान हासिल गर्दै सो रकम बराबारको पुरस्कार हात पारेकी हुन् ।

युवा वैज्ञानिकहरूलाई पहिचान र प्रेरित गर्नका लागि गरिने प्रतियोगितामा ओकासियोले ओपनएआईको च्याटजीपीटी प्रयोग गरी तयार पारेको आफ्नो विश्लेषण पेश गरेकी थिइन् ।

‘समाजले मानिसहरूलाई उनीहरूको पहिचानको आधारमा कसरी बुझ्छन्’ भन्ने कुराको विश्लेषण गर्न ओकासियोले एआई प्रयोग गरेकी थिइन् । अपराध गरेका व्यक्तिलाई हामी कसरी हेर्छौं ? ‍हामी कसलाई सबैभन्दा निर्दोष र सबैभन्दा कमजोर मान्छौँ ?  हामी कसलाई सबैभन्दा बढी सहानुभूति दिन्छौँ ? यस्ता प्रश्नहरुको उत्तर विश्लेषण गर्न उनले च्याटजीपीटीको सहयोग लिएकी थिइन् ।

“मैले गरेको परियोजनाबाट सामाजिक विज्ञानमा नयाँ मेथाेडाेलाेजी विकास गर्नु थियो । किताबमा भएका बाहेक नयाँ कुरा पत्ता लगाउनु थियो,” उनले भनेकी छन्, “यसका लागि मैले जीपीटी थ्री प्रयोग गरेकी थिएँ । अन्य कामबाहेक यसलाई विश्लेषण गर्ने टुलका रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने देखाउन च्याटजीपीटी प्रयोग गरेकी थिएँ ।”

आफ्नो विश्लेषणमा उनले सन् १९७६ देखि १९८४ को बीचमा म्यासाचुसेट्समा भएको हत्याको कभरेजको विश्लेषण गरेकी थिइन् । त्यसका लागि उनले एफबीआई र बोस्टन ग्लोबका पाँच हजार लेखहरु विश्लेषण गर्न जीपीटी थ्री प्रयोग गरेकी थिइन् ।

उनको विश्लेषणको निष्कर्षमा अहिले पनि १८ वर्ष मुनिका काला वर्णका किशोरहरूले गोरो वर्णको तुलनामा ३० प्रतिशत कम मानवीय व्यवहार पाउँछन् । त्यस्तै १८ देखि २९ वर्षमा काला वर्णका महिलाहरुले गोरो वर्णको महिलाको तुलनामा २३ प्रतिशतले व्यवहार कम पाउँछन् ।

लेखहरू पढेर मात्र ती तथ्य पत्ता नलाग्ने उनी बताउँछिन् । सन् १९४२ बाट आयोजना गर्न थालिएको सो प्रतियोगितामा देशभरका १९०० बढी हाई स्कुल अध्ययनरत विद्यार्थीले भाग लिएका थिए ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १३:५०