काठमाडौं । नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल मुस्किलसँग ह्याकरको हातबाट फिर्ता आएको छ । बुधबार रातिदेखि ह्याक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को (PM_nepal_) ट्वीटर ह्यान्डल बिहीबार दिउँसाे मात्रै पूर्ण रुपमा फिर्ता आएको हो ।
प्रधानमन्त्री दाहालको सचिवालयले ट्वीटरको कार्यालयसँग सम्पर्क गरी ट्वीटर ह्यान्डल फिर्ता लिइएको जानकारी दिएको छ । “अकाउन्ट पूर्ण रुपमा हाम्रो हातमा आइसकेको छ,” सचिवालयका एक अधिकारीले भने ।
प्रधानमन्त्रीको उक्त अकाउन्टको नाम र प्रोफाइल फोटो नै परिवर्तन गरिएको थियो । साथै त्यसबाट एनएफटी सम्बन्धी असान्दर्भिक रिट्वीटहरू समेत गरिएका थिए । प्रधानमन्त्रीकै ट्वीटर अकाउन्ट ह्याक भएपछि नेपालको साइबर सुरक्षा निकै नै सम्वेदनशील अवस्थामा रहेको भन्दै चिन्ता गर्न थालिएको छ ।