close

वर्ल्डलिङ्कमा ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको २ अर्ब लगानी

टेकपाना टेकपाना

चैत ६, २०७९ १७:२९

वर्ल्डलिङ्कमा ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको २ अर्ब लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) मार्फत एक अर्ब ९८ करोड रुपैयाँ बराबरकाे संयुक्त लगानी प्राप्त गरेको छ । 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्ल्डलिङ्कले यो रकम लगानीस्वरुप पाएको जानकारी दिइयो ।

​बीआईआईबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब आठ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिङ्कले प्राप्त गरेको हो । यो नेपालको इन्टरनेट क्षेत्रकै सबैभन्दा ठूलो लगानी भएको बताइएको छ ।

सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट कम्पनीले लगानी पाइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

वर्ल्डलिङ्कमा हाल साढे सात लाख बढी ग्राहक छन् । साथै यो कम्पनी देशको सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो । हाल वर्ल्डलिङ्कमा साढे पाँच हजार कर्मचारी छन् ।

ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्ने बताइएकाे छ । साथै कर्मचारीहरूको सीप अभिवृद्धिका लागि तालिमसमेत प्रदान गरिने छ ।

वर्ल्डलिङ्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा प्रतिबद्ध रहेकाे बताए ।

''यो २७ वर्षको हाम्रो समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम पनि हो । ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ,'' अग्रवालले भने, ''यसले अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडेल बनाउन नेतृत्व गर्नेछ ।''

त्यस्तै ब्रिटिश​ इन्टरनेसनल इन्भेष्टमेन्ट (प्रविधि एवं टेलिकम) का प्रबन्ध निर्देशक अभिनव सिन्हाले भने, ''हामीले सन् २०१९ देखि वर्ल्डलिङ्कमा लगानी गरेसँगै हजारौं घरपरिवार र व्यवसायलाई इन्टरनेटमा जोडिएका छन् । हाम्रो दोस्रो लगानीले वर्ल्डलिङ्कलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा विकट क्षेत्रमा पुग्न र थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसर सिर्जना गर्न सहयोग गर्नेछ ।'' 

त्यस्तै डोल्मा इम्प्याक्ट फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्राध्यापक टिम गोचर ओबीईले याे लगानीले थप रोजगारी सिर्जना हुनुका साथै स्वास्थ्य, शिक्षा, वित्तीय लगायतका सेवामा राम्रो पहुँच पुगी विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रभाव पार्ने विचार राखे ।

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १९:३