close

हवाइजहाजमा हराएको एयरपड्स ट्रयाक गर्दा विमानस्थल कर्मचारीको घरमा भेटिएपछि...

टेकपाना टेकपाना

चैत ११, २०७९ १०:३६

हवाइजहाजमा हराएको एयरपड्स ट्रयाक गर्दा विमानस्थल कर्मचारीको घरमा भेटिएपछि...

काठमाडौं । ब्याग, चाबी अथवा अन्य कुनै सामान ट्रयाक गरेर फेला परेकाे घटना त बारम्बार बाहिर आउने गर्छ । हालै नयाँ खबर पनि बाहिरिएकाे छ । एक अमेरिकी महिलाले आफ्नो एयरपड्स ट्रयाक गरेर भेट्टाउन सफल भएकी छन् । 

ती महिलाले विमानमा छोडेको एयरपड्स ट्रयाक गरेर विमानस्थलमा काम गर्ने कर्मचारीको घरमा भेटाएको सीएनएनले उल्लेख गरेको छ । सीएनएनमा प्रकाशित एक समाचारअनुसार वाशिङ्टनकी एलिजावेथ हेडेन यही मार्च महिनाको सुरुतिर सान फ्रान्सिस्कोमा विमानबाट ओर्लदै गर्दा उनको एयरपड्स (एप्पलको महँगो माइक्रो हेडफोन) कतै खसेको थियो ।

सो एयरपड्स चोरी भएको उनलाई महसुस भयो । आफ्नो एयरपड्स चोरी भएको महसुस भएपछि उनले सो एयरपड्सलाई ट्रयाक गर्न सुरु गरिन् । एयरपड्स ट्रयाक गरेको करिब दुई हप्तापछि उनको एयरपड्स फेला परेको छ ।

एलिजावेथ आफ्नो श्रीमानलाई भेट्न टोकियोको यात्राबाट फर्किदै थिइन् । सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लदै गर्दा उनले आफ्नो ज्याकेट विमानको पछाडिको सिटमा छोडेको थाहा पाइन् ।

यसपछि उनी विमानमा गएर आफ्नो ज्याकेट लिनको लागि फर्किइन्, तर उनलाई विमान परिचारिकाले विमानभित्र पस्ने अनुमति दिइनन । उनले धेरै अनुरोध गरेपछि विमान परिचारिकाले आफैँले ज्याकेट ल्याइदिने भनिन् ।

ज्याकेट पाएपछि उनी सियाटल जान आफ्नो दोस्रो उडानतर्फ लागिन् । उडानमा सँगैको यात्रुको बच्चा कराउन थालेपछि यसबाट छुटकारा पाउन उनले आफ्नो एयरपड झिक्न ज्याकेटको गोजीमा हात हालिन्, तर ज्याकेटमा उनको एयरपड्स भेटिएन ।

विमानले उडान भरिसकेको थियो । उनीसँग अन्य कुनै विकल्प थिएन । यसपछि उनले विमानको इन-फ्लाइट वाई-फाई प्रयोग गरेर 'फाइन्ड माई एप' मार्फत आफ्नो एयरपड्स ट्रयाक गरिन् । याे ​एपले एप्पल डिभाइसहरू ट्रयाक गर्न मद्दत गर्दछ ।

आफ्नो एयरपड्स ट्रयाक गर्दा उनले आफ्नो एयरपड्स एक ठाउँबाट अर्को ठाउँ पुगिरहेको देखिन् । उनले सान फ्रान्सिस्कोदेखि सियाटलसम्मको आफ्नो उडान यात्राका दौरान उक्त एयरपड्सको सबै गतिविधिको स्क्रिनशट लिएर राखिन् ।

उनी घर पुग्दासम्म उनको एयरपड्स पनि 'युनाइटेड कार्गो' भन्ने स्थानमा पुगिसकेको थियो, जुन विमानस्थलभित्रकै स्थान थियो । त्यसपछि विस्तारै उक्त एयरपड्स विमानस्थलको टर्मिनल २ तर्फ गयो, त्यसपछि टर्मिनल ३ हुँदै एयरपड्स हाइवेतर्फ लाग्यो ।

त्यहाँबाट एयरपड्स सान माटियोतर्फ हुँदै एउटा घरमा पुग्यो । उक्त एयरपड्स सोही घरमा तीन दिनसम्म बस्यो । एलिजावेथले यो सबै गतिविधि ट्रयाक गरिरहेकी थिइन् । सबैका लागि आफ्नो ग्याजेट निकै नै महत्त्वपूर्ण हुन्छ ।

तर एलिजावेथका लागि त्यो एयरपड्स एउटा भावना थियो, जसले सेनामा भर्ती भएका उनका श्रीमानले दुर्गम स्थानबाट फोन गर्दा आवाज राम्रोसँग सुन्न मद्दत गर्थ्यो ।

उनी जसरी पनि आफ्नो एयरपड्स फिर्ता चाहन्थिन् । यसपछि उनले आफूले सक्दो प्रयास गरिन् । उनले विमानस्थलदेखि लिएर प्रहरी सबैलाई खबर गरिन् । यद्यपि कहिँकतैबाट मद्दत नपाएपछि पुन: मोबाइल एपको मद्दत लिइन् ।

उनले सो एपमा आफ्नो एयरपड्सलाई 'लस्ट' अर्थात् हराएको भनेर मार्क गरिन् । यसरी मार्क गरिसकेपछि जसले उक्त हराएको एयरपड्स प्रयोग गरिरहेको छ, उसले एयरपड्स धनीको भ्वाइस मेसेज सुन्नसक्छ, जसमा एयरपड्स धनीको फोन नम्बर पनि छोडिएको हुन्छ ।

यस विषयमा युनाइटेड कार्गोले आफूलाई सहयोग नगरेको एलिजावेथले बताइन् । यद्यपि यो काममा उनलाई विमानस्थलमा खटिएका सान माटियो पुलिस फोर्सका एक जासुस कर्मचारी मद्दत गरे । ती प्रहरीले एलिजावेथले ट्रयाक गरेको स्थान पत्ता लगाउन मद्दत गरेका थिए । 

पछि जब उनले आफ्नो एयरपड्स फिर्ता पाइन्, युनाइटेड कार्गोले एयरपड्स लाने व्यक्ति आफ्नो कर्मचारी नभई कोही भेन्डर भएको स्पष्टीकरण दिएको थियो ।

यसबीच एयरपड्स लगेका व्यक्तिले आफ्नो आईफोनमा सो एयरपड्स कनेक्ट गर्दा उनले एलिजाबेथले दिएको नोटिफिकेसन पाएका थिए । युनाइटेड कार्गोले गरेको सोधपुछमा भने उक्त व्यक्तिले एयरपड्स आफूसँग नभएको बताएका थिए ।

पछि एलिजाबेथसँग भएको स्क्रिनशट देखाएपछि बल्ल ती व्यक्तिले आफूले विमानस्थल सरसफाइ गर्ने कर्मचारीले उक्त एयरपड्स दिएको सुनाए ।

हाल यो घटनाको जिम्मा सान फ्रान्सिस्को विमानस्थलका प्रहरीले लिएको छ भने युनाइटेड कार्गोले एलिजावेथलाई नयाँ एयरपड्स खरिदका लागि क्षतिपूर्ति दिने भएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १४:३८