close

चलचित्रको क्लिप टिकटकमा राख्नु जघन्य अपराधः भुवन केसी

टेकपाना टेकपाना

चैत १५, २०७९ १३:१३

चलचित्रको क्लिप टिकटकमा राख्नु जघन्य अपराधः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हलमा चलचित्रको क्लिप खिचेर टिकटक लगायतका सामाजिक सञ्जालमा शेयर गर्नु जघन्य अपराध भएको बताएका छन् ।

मंगलबार बोर्डमा आयोजित 'सिनेमा साइबर सेक्युरिटी' नामक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्रले साइबर अपराधको धेरै सामना गर्नुपरेको भनाइ राखे ।

"साइबर अपराधले नेपाली चलचित्रलाई पारेकाे नकारात्मक असरबारे हामी जानकार छौँ । यसलाई के कति हदसम्म नियन्त्रण वा न्यूनीकरण गर्न सक्छौं भन्ने विषयमा पनि गम्भीर छौं," उनले भने, "प्रविधिको विकासले हाम्रो जीवनशैलीमा धेरै परिवर्तन ल्याएको छ । यद्यपि यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन्छ । टिकटक र युट्युबले चलचित्रलाई प्रचार तथा प्रवर्द्धन गर्न सहयोग गरेपनि यसले अनलाइनमा लिक हुने समस्या पनि ल्याएको छ ।" 

यसरी भिडिओ लिक हुने क्रमले चलचित्र निर्मातालाई आर्थिक रुपमा धेरै असर गरेकाे भन्दै उनले यो समस्यालाई सम्बोधन गर्न बोर्डले 'डेडिकेटेड डेस्क' सहित हटलाइन सेवा उपलब्ध गराउने तयारी गरिरहेकाे जानकारी दिए । यस डेस्कले साइबर जाेखिम न्यूनीकरण गर्न र पाइरेसी हुनबाट रोक्न काम गर्ने उनको भनाइ थियाे ।

टिकटकमा भिडिओ लिक हुने प्रवृत्ति चलचित्रको शुटिङदेखि नै सुरु हुने चर्चा गर्दै उनले भने, "शुटिङको समयमा नै धेरै भिडिओ लिक भइसकेका हुन्छन् । पछि गएर हलका क्लिप लिक हुने त सामान्य जस्तै भइसक्यो," उनले भने, "यो एउटा जघन्य अपराध हो । यस्तो गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही गर्न आवश्यक छ ।"

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १३:३०