close

फेसबुकमा अनलाइन सट्टेबाजी गराउने गिरोह सक्रिय, ‘सर्च अपरेसन’ गर्दै प्रहरी

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १७, २०७९ २०:२२

फेसबुकमा अनलाइन सट्टेबाजी गराउने गिरोह सक्रिय, ‘सर्च अपरेसन’ गर्दै प्रहरी

काठमाडौं । अनलाइन बेटिङ (जुवा) मा लगानी गर्न लगाउने गिरोह फेसबुकमा सक्रिय भएको पाइएको छ । फेसबुकमा 'ईसेवा अर्निङ इन नेपाल' नाम भएको ग्रुपमार्फत यस्तो कार्य भएको पाइएको हो ।

यो मात्र नभई यस्ता नाम भएका अनेकन् फेसबुक ग्रुपहरूबाट बेटिङ गर्न सिकाउने गिराेह नै सक्रिय छ । यहाँ एउटै तरिकाले बेटिङमा लगाइन्छ भन्ने छैन । व्यक्तिपिच्छे बेटिङ प्लेटफर्म पनि भिन्नाभिन्नै छन् । 

यसरी बेटिङमा लगानी गर्न बाध्य पारिन्छ

सर्वसाधारण व्यक्तिलाई अनलाइन बेटिङमा ल्याउन नक्कली अकाउन्टको बढी प्रयोग भइरहेको देखिन्छ । यस्ता व्यक्तिले कमिसन पाउने लोभमा ईसेवा, खल्ती, आइएमई पे वालेटमा पैसा आएको स्क्रिनशट पोस्ट गर्छन् । पोस्टमा आकर्षक आम्दानी गर्न सकिने भन्दै क्याप्सन राखिएको हुन्छ ।

इच्छुक भएको अवस्थामा उनीहरूले सो अकाउन्टमा मेसेज गर्न अनुरोध गरिएको हुन्छ । मेसेज गरिसकेपछि यस काममा सक्रिय एजेन्टले आफूले प्रयोग गर्ने बेटिङ साइटमा अकाउन्ट बनाउन सिकाउँछन् ।

यसका लागि उनीहरूले आफ्नो प्रोमोकोड दिन्छन् । यस्तो प्रोमोकोड प्रयोग गर्दा अकाउन्ट बनाउनेलाई केही बोनस आउँछ भने प्रोमोकोड दिने व्यक्तिलाई कमिसन आउँछ  ।

यसरी धेरै बेटिङ खेल्ने व्यक्ति खोज्न एजेन्टले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको देखिन्छ । त्यसमा पनि 'ईसेवा अर्निङ इन नेपाल' नाम राख्दै बेटिङ गर्न सिकाउने गरेका छन् ।

फेसबुकमा 'सुदीप महर्जन' प्राेफाइल नाम राखी बेटिङ सिकाउने काममा संलग्न एजेन्ट भन्छन्, "हामीले १०० जना बेटिङ खेल्ने मानिसहरू जोड्न सक्यौं भने राम्रो आम्दानी हुन्छ । त्योभन्दा ठूलो कुरा हाम्रो लिङ्क सोझै एपको प्रमुख एजेन्टसँग हुन्छ । जति धेरै बेटिङ खेल्ने मान्छे भेटिन्छन्, त्यति नै बढी आम्दानी गर्न सकिन्छ ।"

कस्ता खेलमा बेटिङ राख्दा लगानी डुब्दैन भन्ने कुरा सिकाइसकेपछि उनीहरू बेटिङ गर्न रकम जम्मा गर्न लगाउँछन् । हामीले सोझै साइटबाट रकम जम्मा गर्न खोज्दा रकम जम्मा गर्न सम्भव भएन । वेबसाइटबाट डिपोजिट गर्न सम्भव नभएपछि ती एजेन्टले ९८१३६३५२६४ मा भनिएको रकम पठाउन अनुरोध गर्छन् ।

यसबाट के देखिन्छ भने ती एजेन्टले मुख्य एजेन्टलाई यो रकम पठाउँछन् र उनीहरूमार्फत खोलिएको अकाउन्टमा त्यहाँ भनिएको करेन्सीका रूपमा अकाउन्टमा डिपोजिट गर्छन् । यसरी उनीहरूले बनाएको प्रयोगकर्ताले जति बेटिङ खेले आफूलाई त्यति धेरै फाइदा हुने महर्जनले बताए ।  

उनले फिफिया (Fifiia) वेबसाइटमा अकाउन्ट बनाएर बेटिङ खेल्न सुझाव दिएका थिए । त्यस्तै केही एजेन्टले 'lys.uz.top' साइटबाट बेटिङ गर्न सुझाव दिएका थिए । विभिन्न समयमा वालेटमा आएका रकमको स्क्रिनशट पठाउँदै उनीहरू विश्वस्त बनाउन खोज्छन् ।

यसैगरी चार्ज-स्पोट डट बिज, ग्रेटफकिङ डटकम, किम्बे, टीएलसी जस्ता वेबसाइट तथा एपको लिङ्क दिनेहरू पनि देखिएका छन् ।

बेटिङ खेल्ने प्रयोगकर्ता फेला पार्न सके धेरै फाइदा हुने भन्दै उनीहरू आफैं बेटिङ नखेलेर उनीहरू अन्य व्यक्ति खोज्छन् । अनलाइट बेटिङका लागि उनीहरूले भनेका प्रक्रिया अपनाएको खण्डमा बेटिङ खेल्ने साइटहरू देख्न सकिन्छ ।

यस्ता साइट वनएक्स बेट, डाफा बेटजस्ता बेटिङ प्लेटफर्मभन्दा भिन्नै नाममा हुन्छन् । त्यहीँ भएको बैंक तथा डिजिटल वालेट (ईसेवा, खल्ती तथा आईएमई) का अकाउन्टबाट पैसा डिपोजिट गर्न सकिने र बेट खेलेर आएको रकमलाई नेपाली वालेटबाट निकाल्न सकिने एजेन्टको भनाइ छ ।

यसरी अनलाइन बेटिङ कार्यमा संलग्न गराउन कम्पनीको नामबाट खोलिएको फेसबुक ग्रुप र त्यसमा कम्पनीको वालेटको स्क्रिनशट पोस्ट राखेको प्रति अनुसन्धान भइरहेको ईसेवाका प्रतिनिधिले जानकारी दिएका छन् ।

यता बेटिङका लागि प्रयोग भएका अनलाइन लिङ्कलाई ब्लक गर्न तयारी गरिएको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिए ।

हामीले अनलाइन बेटिङमा सक्रिय केही व्यक्तिको नाम र सम्पर्क नम्बर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उपलब्ध गराएका छौँ । टेकपानाबाट प्राप्त सूचनाको आधारमा थप अनुसन्धान अगाडि बढाउने कार्यालयले प्रतिबद्धता जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ ७:५१