काठमाडौं । इन्टरनेट र डिभाइसको सुविधा पाए विद्यार्थीले अनलाइनबाटै अध्ययन गर्न सक्छन् । तर अनलाइनमा कुन कोर्ष लिने, ती कोर्षबारे अरुले के भनिरहेका छन्, नि:शुल्क कोर्ष कस्ता छन् जस्ता कुरा थाहा पाउन भने आवश्यक छ ।
यही कुराको समाधानस्वरुप ‘क्लास सेन्ट्रल’ वेबसाइट सञ्चालनमा छ । यस वेबसाइटमा अधिकांश अनलाइन कोर्षहरूलाई एकै ठाउँमा राखिएको छ । जसले गर्दा अनलाइन अध्ययन गर्न खोजिरहेकाहरूलाई यो वेबसाइट निकै उपयोगी हुनसक्छ ।
कस्तो वेबसाइट हो यो ?
यस वेबसाइटले इन्टरनेटमा रहेका कोर्षलाई एकै ठाउँमा सूचीकृत गर्ने गर्छ । वेबसाइटमा विश्वभरका १२ सय बढी विश्वविद्यालय, एक हजार इन्स्टिच्युट र ८० भन्दा बढी अनलाइन कोर्ष उपलब्ध गराउने प्लेटफर्महरू यसमा समेटिएका छन् ।
विद्यार्थीले वेबसाइटबाट नै विभिन्न नि:शुल्क/सशुल्क कोर्षहरूमा पहुँच पाउन सक्छन् । वेबसाइटले यो सेवाको भने शुल्क लिँदैन । तर विद्यार्थीले यस प्लेटफर्मको प्रयोग गरी कुनै सशुल्क कोर्ष खरिद गर्छ भने कम्पनीले केही कमिसन लिने गरेको छ ।
कसरी प्रयोग गर्ने ?
सुरुमा यहाँ क्लिक गरी वेबसाइटमा जानुहोस् । त्यहाँ खुलेकाे पेजकाे माथिल्लो दायाँ भागमा भएको ‘साइनअप’मा क्लिक गरी अकाउन्ट क्रियट गर्न सक्नुहुन्छ ।
यदि पहिल्यै साइनअप गर्नुभएको छ भने लगइन गर्न सक्नुहुन्छ । अब वेबसाइटको माथिल्लो तहमा भएको ‘कोर्षेस’ र ‘द रिपोर्ट’का बारे चर्चा गरौँ ।
कोर्षेस (Courses)
वेबसाइटमा भएका सबै कोर्षलाई यस सेक्सन अन्तर्गत राखिएको छ । ‘कोर्षेस’ (Courses) मा क्लिक गरेर कोर्ष रहेको सेक्सनमा जान सकिन्छ ।
त्यहाँ तपाईंले कोर्षहरूलाई ‘र्याङकिङ्ग’ (Ranking) र ‘कलेक्सन’का आधारमा छान्न सक्नुहुन्छ । त्यस्तै ‘सब्जेक्ट्स’ (subjects) भित्र गएर तपाईंले आफैं कुनै कोर्ष छान्न सक्नुहुन्छ ।
जस्तो; ‘सब्जेक्टस्’ भित्र कम्प्युटर साइन्समा जाँदा विभिन्न विषय देख्न सकिन्छ । ती विषयमध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मा जाँदा योसँग मिल्दोजुल्दो विषय, कोर्ष संख्या लगायतका विवरण देख्न सक्नुहुन्छ ।
तपाईं यसरी कुनै विषयभित्र जानुभयो भने तह, भाषा, विश्वविद्यालय, प्रमाणपत्र पाइने कोर्ष, नि:शुल्क कोर्ष जस्ता कुराबाट फिल्टर गर्न सक्नुहुन्छ । योसँगै तपाईंले उक्त विषय ‘फलो’ गरेर भविष्यमा आउने कुनै पनि नयाँ अपडेटको सूचना पाउन सक्नुहुन्छ ।
द रिपोर्ट (The Report)
वेबसाइटले कोर्षमात्र नभई शिक्षा क्षेत्रमा भइरहेका गतिविधिका समाचार, शैक्षिक स्रोत, गाइड/टिप्स आदि पनि उपलब्ध गराउँछ । यसका लागि वेबसाइटको ‘द रिपोर्ट’ सेक्सनमा जानुपर्छ ।
विद्यार्थीले के-के गर्न सक्छन् ?
स्वअध्ययनमा रुचि भएका विद्यार्थीलाई यो वेबसाइट उपयोगी हुन्छ । किनकि यसमा विश्वविद्यालयहरूले अध्यापन गराउने विषयहरूको पाठ्यक्रम पाइन्छ । त्यस्तै अनलाइनमा उपलब्ध नि:शुल्क कोर्षहरू एकै ठाउँमा रहेका छन् ।
वेबसाइटमा ७०० बढी नि:शुल्क गुगल सर्टिफिकेट कोर्ष, १७०० बढी कोर्सेरा कोर्ष, लिङ्क्डइनका कोर्षहरू रहेका छन् । त्यस्तै विद्यार्थीले सशुल्क कोर्षबारे अरूले दिएका प्रतिक्रिया पढ्न सक्छन् ।
आफूलाई मन पर्ने कोर्षहरूलाई वर्गीकरण गर्न सक्छन् । समग्रमा हेर्दा यो वेबसाइट इन्टरनेटको प्रयोग गरी स्वअध्ययन गर्न खोजेकाहरूलाई उपयोगी हुने देखिन्छ ।