close

यातायात विभागले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिन लागेको हो ?

टेकपाना टेकपाना

चैत १९, २०७९ १५:२७

यातायात विभागले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिन लागेको हो ?

काठमाडौं । सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित नागरिक एप सञ्चालनमा ल्याएको हो । नेपाली नागरिकले आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्र, प्यान कार्ड लगायत आफ्नो सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्स नागरिक एपमा राखी सरकारका विभिन्न सेवाहरू लिन सक्छन् । 

नागरिक एपबाट ब्लुबुकको करसम्म तिर्न सकिने अवस्था हुँदा त्यहाँ भएका डिजिटल लाइसेन्स देखाएर सवारी किन चलाउन नमिल्ने भन्ने प्रश्न बारम्बार उठ्दै आइरहेको छ । यो विषयलाई लिएर संसदमा पनि आवाज उठेका छन् । 

केही दिन अगाडि मात्र सासंद असिम शाहले आफ्नो फेसबुकमा एक पोस्ट गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नागरिक एपमा रहेको डिजिटल लाइसेन्स देखाइ सवारी चलाउन पाइने विषयलाई लिएर गृह मन्त्रालयमा पत्रचार भएको भन्दै लेखेका थिए । 

उनले लेखेका छन्, "केही हफ्ता अगाडि संसदमा शून्य समय मा मुद्दा उठाएको थिए फलस्वरुप यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नागरिक ऐप मा रहेको डिजिटल लाइसेन्स देखाएरै सवारीसाधन चलाउन पाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।"

तर यातायात व्यवस्था विभागले भने यो विषयलाई लिएर गृहमा कुनै पनि प्रकारको पत्राचार नभएको जनाएको छ । 

"नागरिक एपमा भएको कागजपत्रलाई मान्यता दिने कुरामा हामी गम्भीर छौँ र हामीले यस विषयमा आन्तरिक छलफल पनि गरिरहेका छौँ । तर अहिले नै मन्त्रालयमा पत्रचार गर्ने कुरा हुँदैन," विभागका महानिर्देशक श्री नारायण प्रसाद भट्टराईले बताए । 

आन्तरिक छलफलकै क्रममा रहेको कुरा मन्त्रालयमा लिखित रुपमा गएको भन्ने कुरा साँचो नभएको उनले बताए । "डिजिटल लाइसेन्सलाई कार्यान्वयनमा ल्याउन के कस्ता तयारी गरिनुपर्छ भन्ने विषयमा हामी आफै छलफलमा छौँ," उनले भने, "हाम्रो तर्फबाट तयारी सकेपछि ट्राफिक प्रहरीसँग यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा पनि सल्लाह गरी कार्यान्वयनको प्रक्रिया सहितको लिखित आग्रह गर्नुपर्ने हुन्छ । अहिले पत्र पठाउने बेला भइसकेको छैन ।"

नागरिक एपमा भएको लाइसेन्स देखाएर नै सवारी चलाउन पाउनुपर्ने मागमा विभाग सकारात्मक रहेको र आवश्यक कदम चाल्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ १५:२८