close

नगर्नुहोस् यी ७ गल्ती, अन्यथा ब्लक हुन सक्छ तपाईंको टिकटक अकाउन्ट

टेकपाना टेकपाना

चैत १९, २०७९ २०:१९

नगर्नुहोस् यी ७ गल्ती, अन्यथा ब्लक हुन सक्छ तपाईंको टिकटक अकाउन्ट

काठमाडौं । टिकटक अकाउन्ट सुरक्षित राख्नु निकै चुनौतीपूर्ण काम बनेको छ । विभिन्न देशका नीति अनुसार चल्नुपर्ने बाध्यताले पछिल्लो समय टिकटकले आफ्नो प्लेटफर्मका लागि कडा नियमहरू ल्याउन थालेको छ ।

कम्पनीको कुनै पनि नीति विपरीत काम गरे अकाउन्टमा प्रतिबन्ध लाग्न सक्छ । आज हामी टिकटकमा केकस्ता गल्ती गर्दा अकाउन्ट ब्लक हुन सक्छ भन्ने बारेमा बताउँदै छौं । 

 

किन ब्लक हुन्छ टिकटक अकाउन्ट ?

कस्तो गल्ती गर्दा तपाईंको अकाउन्ट ब्लक हुन्छ भन्ने कुरामा प्रवेश गर्नु अघि टिकटकले किन अकाउन्टमाथि प्रतिबन्ध लगाउँछ भन्ने बुझ्नु आवश्यक हुन्छ । टिकटकसँग त्यस्तो के नीति छ, जसले गर्दा उसलाई आफ्नै प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउँछ ?

टिकटक एउटा त्यस्तो प्लेटफर्म हो, जसमा मनोरञ्जनात्मक तथा रचनात्मक कन्टेन्ट हेर्न सकिन्छ । एपमा कम्युनिटी गाइडलाइन्स छ, जसले जसले यो प्लेटफर्मका सबै प्रयोगकर्ताका लागि आफ्ना नीतिहरू पालना गर्न बाध्य बनाउँछ ।

यदि कुनै व्यक्तिले उक्त नीति बारम्बार तोडेको खण्डमा टिकटकले त्यस्ता प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउँछ । विशेषगरी यो प्लेटफर्मका अन्य प्रयोगकर्तालाई सुरक्षित राख्न कम्पनीले नीति तोड्ने प्रयोगकर्तालाई आफ्नो प्लेटफर्मबाट हटाउँछ ।

 

के गर्दा अकाउन्टमाथि प्रतिबन्ध लाग्छ ?

टिकटकमा अनुपयुक्त कन्टेन्ट अपलोड गर्ने प्रयोगकर्तालाई टिकटकले सबैभन्दा पहिले प्रतिबन्ध लगाउँछ । प्लेटफर्ममा कस्ता कन्टेन्ट राख्नु हुँदैन भन्ने कुरामा टिकटकले सधैं निगरानी गरिरहेको हुन्छ ।

विशेषगरी धम्की दिने, लागू पदार्थ, रक्सी, नग्नता वा कुनै प्रकारका यौन सामग्रीलाई बढवा दिने कन्टेन्ट छन् भने टिकटकले त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध लगाउँछ । सुरुवातमा त्यस्ता कन्टेन्ट अपलोड नगर्न सुझाव दिने भएपनि प्रयोगकर्ताले बारम्बार प्लेटफर्ममा त्यस्ता कन्टेन्ट अपलोड गर्न थालेपछि टिकटक प्रतिबन्ध लगाउन बाध्य हुन्छ ।

 

१) सार्वजनिक सुरक्षालाई खतरामा पार्ने कन्टेन्ट शेयर गर्दा

यदि तपाईं टिकटक प्रयोग गर्दै हुनुहुन्छ भने एपमा कुनै पनि प्रकारको हिंसालाई उक्साउने वा प्रवर्द्धन गर्ने सामग्री पोस्ट गर्नबाट टाढा रहनु होस् ।

अन्य मानिसहरूलाई हिंसा गर्न उक्साउने, निर्देशन दिने वा प्रोत्साहन गर्ने कन्टेन्ट अपलोड गर्दा तपाईंको अकाउन्टमाथि सोझै प्रतिबन्ध लाग्छ । कम्पनीले आफ्नो कम्युनिटी गाइडलाइन्समा यो कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ ।

 

२)  यौनजन्य कार्यलाई बढवा दिने सामग्री राख्दा

नग्नता वा अश्लील सामग्री राखेर यौनजन्य क्रियाकलाप बढाउने कन्टेन्ट राख्दा पनि तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लाग्न सक्छ । त्यसैले आफ्नो टिकटक अकाउन्ट सुरक्षित राख्न यस्ता कन्टेन्टहरूबाट टाढै रहनुहोस् ।

 

३)  आफैंलाई हानी गर्ने किसिमका कन्टेन्ट

यदि तपाईंले आफैंलाई यातना दिने किसिमको कन्टेन्ट अपलोड गर्नु भएको छ भने पनि टिकटकले तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लगाउन सक्छ । खासगरी आत्महत्या दुरुत्साहन गर्ने, आफैंलाई हानी गर्ने कन्टेन्ट राख्ने अकाउन्टमाथि टिकटकले प्रतिबन्ध लगाउँछ ।

 

४) हिंसात्मक कन्टेन्ट वा फोटो शेयर गर्दा

यदि तपाईंले आफ्नो टिकटक भिडिओमा त्यस्ता फोटोको प्रयोग गर्नु भएको छ, जहाँ हिंसात्मक गतिविधि देखिएको छ वा रक्तपात भएको छ भने तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लाग्न सक्छ । टिकटकले सुरुवातमा चेतावनी दिए पनि धेरै समय यस्ता कन्टेन्ट अपलोड गर्दा तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लाग्छ ।

टिकटकमा दुर्घटना भएको फोटो वा भिडिओ, पशु काटेको फोटो वा भिडिओ राख्नु हुँदैन ।

 

५) गैर कानूनी कामलाई बढवा दिने कन्टेन्ट

यदि तपाईंले गैर कानूनी कामलाई प्रवर्द्धन गर्ने सामग्री राख्नु भएको छ भने पनि तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लाग्छ । विशेषगरी हत्या गरेको, भौतिक असर पुर्‍याएको, वन्यजन्तुको गैर कानूनी ओसारपसार गरेको वा त्यस्तै कानून विपरीतका काम गरेको कन्टेन्ट राख्दा अकाउन्ट ब्लक हुन सक्छ । 

 

६)  ब्ल्याकमेल गर्ने

कसैलाई कन्टेन्टमार्फत ब्ल्याकमेल गर्न खोज्नु भएको छ भने याद गर्नुस् तपाईंको अकाउन्टमाथि प्रतिबन्ध लाग्न सक्छ । त्यति मात्र नभइ तपाईं कानूनबाट दण्डित पनि हुन सक्नुहुन्छ ।

भिडिओ मार्फत कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारी, ठेगाना, फोन नम्बर, बैंकिङ विवरण वा अन्य किसिमका व्यक्तिगत जानकारी सार्वजनिक गर्दा पनि टिकटकले प्रयोगकर्ताको अकाउन्टमाथि प्रतिबन्ध लगाउँछ ।

 

७) गलत सूचना राख्दा

टिकटकमा राखेका कन्टेन्टमार्फत समाजमा गलत सन्देश प्रवाह हुने, गलत प्रभाव पर्ने वा सामाजिक प्रतिष्ठामा आँच आउने अवस्था छ भने अकाउन्टमाथि प्रतिबन्ध लाग्ने सम्भावना उच्च हुन्छ ।

त्यस्तै टिकटकमा लाइक, भ्युज, फलोअर आदिको किनबेच गर्ने काम भइरहेको छ भने पनि टिकटकले त्यस्ता अकाउन्टमाथि प्रतिबन्ध लगाउने गर्छ ।

 

टिकटकमा अकाउन्टमाथि प्रतिबन्ध लाग्न नदिन तलका काम गर्नुहोस्;

  • सबै उमेर समूहका प्रयोगकर्तालाई उपयुक्त हुने कन्टेन्ट अपलोड गर्नुहोस् ।
  • गैर कानूनी काम प्रवर्द्धन गर्ने कन्टेन्ट नराख्नुहोस् ।
  • कुनै कुराको दुष्प्रचार नगर्नुहोस् ।
  • कुनै व्यक्तिको अनुमति बिना व्यक्तिगत विवरणहरू शेयर नगर्नुहोस् ।
  • अन्य प्रयोगकर्तालाई राम्रो व्यवहार गर्नुहोस् र कम्युनिटी गाइडलाइन्स राम्रोसँग पालना गर्नुहोस् ।   

 

 

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ २०:१९