close

च्याटजीपीटीले यसरी जोगाइदियो एक विद्यार्थीको ट्राफिक जरिवाना

टेकपाना टेकपाना

चैत २०, २०७९ ८:२६

च्याटजीपीटीले यसरी जोगाइदियो एक विद्यार्थीको ट्राफिक जरिवाना

काठमाडौं । च्याटजीपीटीले लेखेको चिठीका कारण एक महिलाले अनावश्यक रूपमा तिर्नुपर्ने जरिवाना रकम जोगिएको छ । मिल्ली हल्टन (Millie Houlton) नाम भएकी एक अमेरिकी विद्यार्थीले गलत ठाउँमा पार्किङ गरेको भन्दै न्युयोर्क सिटी काउन्सिलले जरिवाना तिर्न सूचना पठायो ।

उक्त क्षेत्रमा पार्किङ गर्न दुई वर्षका लागि अनुमति लिएकी हल्टनलाई एकाएक त्यस्तो सूचना आएपछि जरिबाना तिर्नु बाहेक अरू केही उपाय छ जस्तो लागेको थिएन । उनलाई सो क्षेत्रमा पार्किङ गरेकाले ६० पाउन्ड (करिब नौ हजार ७३३ रुपैयाँ) तिर्न भनिएको थियो । पढाइमा व्यस्त भएकी उनलाई विवाद गर्नुभन्दा जरिवाना तिर्नु नै उपयुक्त लागेको थियो ।

तर, त्यही बेला उनको मनमा च्याटजीपीटीको सहयोग लिने सोच आयो । च्याटजीपीटीको सहयोग लिइ हेरौँ न त भन्ने हिसाबले २२ वर्षीया हल्टनले च्याटजीपीटीलाई पत्र लेखिदिन अनुरोध गरिन् ।

"काउन्सिलले बिना अर्थ मलाई पार्किङ जरिवाना तिर्न लगाएको छ । कृपया मेरा काउन्सिललाई पत्र लेखेर सहयोग गर," (Please help me write a letter to the council, they gave me a parking ticket) उनले च्याटजीपीटीमा लेखिन् ।

उनका लागि च्याटजीपीटीले लेखिदिएको पत्र पाएपछि काउन्सिल हल्टनलाई पठाएको सूचना फिर्ता लियो । र, उनले जरिवाना तिर्नु नपर्ने भयो ।

आफूले पार्किङ गर्ने अनुमति पाएको र त्यति हुँदा पनि काउन्सिलले गलत रूपमा जरिवाना जारी गरेको हल्टनको तर्क थियो । आफूलाई काउन्सिलको उक्त काम गलत हो भन्ने थाहा भए पनि पढाइका कामले उनी धेरै नै व्यस्त थिइन् । जसले गर्दा यी तमाम कारण देखाएर निवेदन लेख्ने काम उनका लागि गाह्रो विषय थियो ।  

"मैंले त्यहाँ पार्किङ अनुमति पाइसकेकाले जरिवाना मागे पनि तिर्नु हुँदैन भन्ने कुरामा म ढुक्क थिए," उनले बीबीसीलाई भनिन्, "आफूले व्यक्त गर्न चाहेका कुरा एकदमै गाह्रो थियो । त्यसैले च्याटजीपीटीले केही सहयोग गर्छ कि भनेर जाँच गरेकी थिएँ ।"

उनले बीबीसीलाई भने अनुसार च्याटजीपीटीलाई आफूले के के गरेको थिएँ भन्ने कुराको विवरण दिइन् । जरिवाना लिनु किन गलत छ भन्ने कुरा पनि उल्लेख गरिन् । 

त्यसको केही मिनेटमै च्याटजीपीटीले विश्वस्त बनाउने पत्र लेखेपछि उनी दङ्ग भइन् । र, सोही पत्र काउन्सिललाई बुझाइन् ।

गत नोभेम्बरमा सार्वजनिक भएको च्याटजीपटीमा १० करोड बढी प्रयोगकर्ता रहेका छन् । यस प्लेटफर्म प्रश्नका जवाफ दिने मात्र नभइ कविता, कथा, निबन्ध, विद्यार्थीका गृहकार्य र कम्प्युटर कोड पनि तयार पार्न सक्छ ।

प्रमुख लगानीकर्ताका रूपमा माइक्रोसफ्ट रहेको यस कम्पनीले पछिल्लो समय बजारमा निकै चर्चा पाइरहेको छ । यही चर्चाका कारण माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन 'बिङ'मा पनि ओपन एआईले तयार पारेको टुल प्रयोग गरेको छ ।

कम्पनीले हालसालै च्याटजीपीको नयाँ संस्करण जीपीटी फोर सार्वजनिक गरेको छ । जीपीटी ३.५ अर्थात च्याटजीपीटीको प्रमुख भर्सनमा भएका कमजोरीलाई सुधार गर्दै कम्पनीले नयाँ अपडेट सार्वजनिक गरेको हो ।

च्याटजीपीटीको यही लोकप्रियतालाई नियालिरहेको गुगलले पनि गत महिना एआईमा आधारित च्याटबट 'बार्ड' सार्वजनिक गरेको थियो । यद्यपि यो प्लेटफर्म अहिले केही सीमित देशहरूमा मात्र उपलब्ध छ ।

तर, एआईकै कारण हाम्रो जीवन सुधार हुने कुरामा विभिन्न राष्ट्रहरूले भिन्नाभिन्नै मत छ । केहीले यसले विद्यार्थीलाई क्रियटिभ (रचनात्मक) हुनबाट रोक्ने तर्क दिएका छन् भने केहीले यसले रोजगारी खोस्ने बताएका छन् ।  

आगामी वर्षहरूमा एआईले गर्दा युरोपमा मात्र ३० करोड बढीको रोजगारीमा प्रभाव पर्ने विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

गोपनीयताको कारण देखाउँदै इटालीले त झन च्याटजीपीटीलाई प्रतिबन्ध नै गरिसकेको छ । बीबीसीका अनुसार बिहीबार एलन मस्क सहित एक हजार बढी एआई विज्ञले छ महिनाका लागि एआई विकासको काम रोक्नुपर्ने माग राख्दै हस्ताक्षर गरेका थिए ।

एआई अत्याधुनिक हुँदै गएको अवस्थामा आफूलाई जोगाउन मानिससँग सुरक्षा उपाय नहुने भन्दै यस्तो माग राखिएको हो ।

हुन त एआई सबै अवस्थामा सही हुन्छ भन्ने हुँदैन । यसले दिने सबै सूचना सही नहुन सक्छन् । त्यसबाहेक पनि वास्तविकतामा कहिल्यै नभएको कुरालाई फोटोमा उतार्ने क्षमता पनि एआई टुलमा रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ ९:३९