close

कर्मचारीको क्षमता बढाउन च्याटजीपीटीको सब्सक्रिप्सन खरिद गर्दै भारतीय कम्पनी

टेकपाना टेकपाना

चैत २०, २०७९ १३:१३

कर्मचारीको क्षमता बढाउन च्याटजीपीटीको सब्सक्रिप्सन खरिद गर्दै भारतीय कम्पनी

काठमाडौं । भारतको एक कम्पनीले कर्मचारीको क्षमता बढाउन च्याटजीपीटीको सब्सक्रिप्सन खरिद गर्ने भएको छ । भारतको बैङ्ग्लाेरमा अवस्थित 'क्यापिटल माइन्ड' कम्पनीले कर्मचारीको काममा सहयोग पुर्‍याउने भन्दै च्याटजीपीटीकाे सब्सक्रिप्सन खरिद गर्न लागेको हो ।

कम्पनीका चिफ अपरेटिङ अफिसर वशिष्ठ लायरले एक ट्वीट गर्दै च्याटजीपीटीको सहयोगमा कर्मचारीको कार्यक्षमता पाँच गुणाले बढ्ने उल्लेख गरेका छन् । उनका अनुसार कम्पनीले यसै साता कर्मचारीलाई च्याटजीपीटी प्लसको सब्सक्रिप्सन उपलब्ध गराउनेछ ।

"नयाँ आउनेहरूलाई एआईको फाइदा उठाउन र आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गर्न एआईले सघाउनेछ," उनले ट्वीटमा लेखेका छन् । च्याटजीपीटी प्लसको सब्सक्रिप्सन लिनका लागि प्रति प्रयोगकर्ता मासिक २० डलर (करिब दुई हजार ६२० रुपैयाँ) तिर्नुपर्छ । यस्तो सब्सक्रिप्सन लिएको खण्डमा च्याटजीपीटीले छिटो रिप्लाई दिन्छ ।

त्यति मात्र नभई अत्यधिक ट्राफिक हुँदा पनि च्याटजीपीटी प्लस सब्सक्रिप्सन लिने प्रयोगकर्ताले उक्त प्लेटफर्म प्रयोग गर्न सक्छन् । यहीअन्तर्गत च्याटजीपीटीको नयाँ संस्करण जीपीटी फोर पनि प्रयोग गर्न सकिन्छ, जसमा कम्पनीले विभिन्न नयाँ फिचरहरू समावेश गरेको छ ।

च्याटजीपीटी, बिङ र बार्ड जस्ता आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) च्याटबटका कारण एकातर्फ रोजगार गुमाउने मानिसहरू बढ्न सक्ने अनुमान गरिएको छ ।

अर्कोतर्फ कम्पनीले नै कर्मचारीको कार्यक्षमता वृद्धि गर्न च्याटजीपीटीको सब्सक्रिप्सन लिएको खबर बाहिर आएको छ । यसैबीच टेस्लाका मालिक एलन मस्क, एप्पलका सह-संस्थापक स्टिभ वज्नियाक (Steve Wozniak) ले एआई विकासको काम छ महिनाका लागि बन्द गर्नुपर्ने माग राखेका छन् ।

उनीहरूसहित अन्य एक हजार बढी एआई विज्ञहरूले जीपीटी फोरभन्दा बढी शक्तिशाली टुल विकासको काम अगाडि बढाउन नहुने तर्क राखेका छन् ।

उनीहरूका अनुसार शक्तिशाली एआई टुलबाट मानिसलाई बचाउने संयन्त्र छैन । त्यसैले एआईबाट मानिसलाई बचाउने एआई विकासका काम रोक्नुपर्ने उनीहरूको धारणा छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १३:४०