close

बिरुवा रुँदा कस्तो सुनिन्छ ? यहाँ सुन्नुहोस् वैज्ञानिकले रेकर्ड गरेको आवाज

टेकपाना टेकपाना

चैत २३, २०७९ १३:२६

बिरुवा रुँदा कस्तो सुनिन्छ ? यहाँ सुन्नुहोस् वैज्ञानिकले रेकर्ड गरेको आवाज

काठमाडौं । एक अध्ययनले बोटबिरुवा पनि रुने तथ्य बाहिर ल्याएकाे छ । तिर्खाउँदा वा पीडा भएको अवस्थामा बोटबिरुवा रुने उक्त अध्ययनकाे दाबी छ ।

वैज्ञानिक एवं शोधकर्ताको खाेज र अन्वेषणबारे जानकारी दिने  सेल जर्नलमा यसबारे एक रिपाेर्ट प्रकाशित भएकाे छ । जसअनुसार पीडा भएको अवस्थामा बाेटबिरुवाले 'एयरब्रोन साउन्ड' निकाल्छन् । 

'एयरब्रोन साउन्ड’ भन्नाले हावाको माध्यमबाट यात्रा गर्ने ध्वनिको तरङ्ग जनाउँछ । अर्थात् हामीले जस्तो आवाज निकाल्छौं, बोटबिरुवाले पनि त्यस्तै आवाज निकाल्छन् । तर, बोटबिरुवाले निकालेको आवाज मानव कानले सुन्न सक्दैन । किनभने त्यस्तो आवाज 'अल्ट्रासोनिक' हुने अध्ययनकाे दाबी छ । 

अध्ययनका क्रममा पानी आवश्यक पर्ने वा हाँगा काटिएका बोटबिरुवाले प्रतिघण्टा ३५ पटकसम्म आवाज निकालेको पाइएकाे रिपाेर्टमा उल्लेख छ । तर, यता पानी उपलब्ध भएका वा हाँगा नकाटिएका बोटबिरुवा शान्त देखिएका थिए । यसरी सबै कुरा पुगेका बोटबिरुवाले प्रतिघण्टा एक पटक मात्र आवाज निकालेको अध्ययनमा उल्लेख छ । 

बोटविरुवाले निकालेको यस्तो आवाजको आवृत्ति (फ्रिक्वेन्सी) २० देखि १०० किलोहर्ज हुने भएकाले मानिसको कानले सुन्न सक्दैन । यो आवाज यति चर्को (हाई पिच) आवाज हो कि, केही सीमित मानिसमा मात्र यस्तो आवाज सुन्नसक्ने क्षमता हुन्छ । यस्तो आवाज प्रायः चमेरो, मुसाजस्ता प्राणीले निकाल्ने गर्छन् ।

कसरी पत्ता लाग्यो बोटबिरुवा पनि पीडा हुँदा रुन्छन् भन्ने तथ्य ?

यो तथ्य फेला पार्न अनुसन्धानकर्ताले विभिन्न तरिका अपनाएका छन् । बोटबिरुवामा पानीको अभाव हुँदा पात सुक्ने, खनिज तत्त्व आवश्यक पर्दा रङ्ग परिवर्तन हुने जस्ता विषयमा त यसअघि नै अध्ययन भएका थिए । त्यसबाहेक पनि बोटबिरुवा काटिँदा ‘भोलाटाइल अर्गानिक कम्पाउन्ड’ (वाष्पशील जैविक यौगिक) निस्किने तथ्य पत्ता लागिसकेकाे छ ।

खोजकर्ताले बोटबिरुवाले पनि पीडामा हुँदा अन्य जीवहरूले सुन्न सक्नेगरी कुनै आवाज निकाल्छन् कि भन्ने कुराको अन्वेषण गर्न थाले । यसका लागि उनीहरूले सबैभन्दा पहिले उपयुक्त रेकर्डिङ सिस्टम तयार पारे । त्यहाँ यस्ता माइक्रोफोन प्रयोग गरिएको थियो, जसले अल्ट्रासोनिक ध्वनि रेकर्ड गर्न सकोस् ।

टमाटर र तम्बाकूको बोटमा यस्तो परीक्षण गरिएको हो । यसरी परीक्षण गर्न स्टार मेथड (STAR Method) अपनाइएको थियो । स्टारको अर्थ Situation, Task, Action र Result भन्ने हुन्छ ।

सबैभन्दा पहिले एउटा बिरुवामा दुई ओटा माइक्रोफोन राखियो । उक्त माइक्रोफोन र टमाटर तथा तम्बाकूको बोटलाई ‘अक्वोस्टिक बक्स’ (त्यस्तो बक्स जहाँ, ब्याकग्राउन्ड आवाज र हावा हुँदैन) मा राखियो । बक्समा राखेपछि पनि सबैभन्दा सामान्य अवस्थामा ती बिरुवाले निकालेको आवाजलाई रेकर्ड गरियो ।

त्यसपछि मसिन लर्निङ अल्गोरिदमका माध्यमबाट त्यहाँबाट रेकर्ड गरिएको आवाजलाई विभिन्न रूपमा वर्गीकरण गरियो ।

यति गरेपछि तम्बाकू र टमाटरको बिरुवालाई विभिन्न अवस्थामा राखेर त्यहाँबाट आएको ध्वनिलाई रेकर्ड गरियो । यसमा सबैभन्दा पहिले यी बिरुवालाई सुख्खा अवस्थामा राखेर आवाज रेकर्ड गरियो भने दोस्रो चरणमा बिरुवालाई काटेर त्यसबाट निस्किएको आवाजलाई रेकर्ड गरियो ।

यसरी विभिन्न अवस्थाहरू सिर्जना गर्दा वैज्ञानिकहरू अल्ट्रासोनिक साउन्ड रेन्ज (२० देखि १२० किलोहर्जसम्मको) मा केन्द्रित थिए । यसरी प्राप्त भएको ध्वनीलाई पनि पुन डिप लर्निङ एल्गोरिदमको प्रयोग गरी वर्गीकरण गरियो ।

वैज्ञानिकहरूले परीक्षण गर्न हरेक अवस्थाको बारेमा अध्ययन गरे । कुनैमा बिरुवालाई माटोमा नराखी त्यसले निकाल्ने ध्वनि राखे, माटोबाट मात्र ध्वनि निस्किन्छ कि भनेर त्यसको पनि परीक्षण गरे, बिरुवालाई उपयुक्त वातावरण दिएर त्यसबाट निस्किएको आवाजलाई पनि रेकर्ड गरियो । यसमा टमाटर र तम्बाकूका २३ ओटाभन्दा बढी बिरुवाको प्रयोग गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यी सबै प्रकारका ध्वनि प्रयोग गरेर अन्वेषकले मसिन लर्निङ मोडेललाई तालिम दिए । मसिन लर्निङ मोडेलले वर्किकरण गरेर देखाएको परिणाममा पीडा हुँदा वा कुनै तत्त्व (पानी वा खनिज) आवश्यक परेको खण्डमा बिरुवाले आवाज निकाल्ने तथ्य बाहिर आयो ।

यसअघि वैज्ञानिकले अन्य जीवले निकालेका आवाजलाई सुन्न सक्छन् भन्ने तथ्य बाहिर ल्याएका थिए । अहिले भने बोटबिरुवालाई पीडा भयो वा कुनै तत्त्वको अभाव हुँदा त्यसको परिपूर्ति गर्न आवाज निकाल्ने गरेको तथ्य बाहिर आएको छ ।   

सेल एउटा वैज्ञानिक खोजमा केन्द्रित जर्नल (पत्रिका) हो, जसले जीवविज्ञानको कुनै पनि क्षेत्रमा भएका खोज तथा अनुसन्धानका सामग्री प्रकाशन गर्ने गर्छ । प्रयोगात्मक परीक्षण गरेर प्राप्त भएका तथ्यहरू यस जर्नलबाट प्रकाशित हुने गर्छन् ।

बिरुवाले आफू काटिएको अवस्थामा यस्तो आवाज निकाल्छ

 

पानी नपाउँदा बिरुवाले यस्तो आवाज निकाल्छ
 

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १३:४८