close

सामसङका कर्मचारीले कम्पनीको गोप्य सूचना च्याटजीपीटीलाई दिएपछि

टेकपाना टेकपाना

चैत २५, २०७९ ८:१५

सामसङका कर्मचारीले कम्पनीको गोप्य सूचना च्याटजीपीटीलाई दिएपछि

काठमाडौं । के तपाईंलाई थाहा छ ? च्याटजीपीटीलाई दिएका सबै सूचना उक्त प्लेटफर्ममा स्टोर भएर बसेका हुन्छन् । र, त्यही सूचनाका आधारमा ओपनएआईले च्याटजीपीलाई थप परिष्कृत बनाएको हुन्छ । ओपन एआईको यही नीतिले गर्दा डेटा लिक हुँदा सामसङले अहिले सङ्कटको सामना गरिरहेको छ ।

आफ्नो काममा च्याटजीपीटीले सहयोग पुर्‍याउने भएपछि सामसङका कर्मचारीले निकै संवेदनशिल सूचना दिएको पाइएको छ । कम्पनीको सेमिकन्डक्टर विभागले इन्जिनियरलाई सोर्स कोड जाँच गर्न च्याटजीपीटको प्रयोग गर्ने अनुमति दिएको थियो ।

कोरियाली सञ्चार माध्यम 'द इकोनोमिस्ट कोरिया'का अनुसार विभिन्न तीन घटनाक्रममा सामसङको संवेदनशील सूचना बाहिरिएको छ । सबैभन्दा पहिले कम्पनीका कर्मचारीले सामसङको संवेदनशील सोर्सकोडमा भएको गल्तीहरू जाँच गर्न च्याटजीपीटीमा सबै सोर्सकोड पेस्ट गरेका थिए ।

दोस्रो घटनामा कम्पनीका कर्मचारीले च्याटजीपीटीमा कम्पनीको सोर्सकोड पेस्ट गर्दै 'कोड अप्टिमाइजेसन' गर्न अनुरोध गरेका थिए । त्यस्तै तेस्रो घटनामा कम्पनीका कर्मचारीले च्याटजीपीटीमा कम्पनीमा भएको गोप्य मिटिङको भिडिओ शेयर गरे । र, त्यसलाई प्रेजेन्टेसनका लागि नोटमा परिणत गर्न अनुरोध गरे ।

यसरी विभिन्न कर्मचारीले कम्पनीका संवेदनशील कुराहरू च्याटजीपीटीमा राख्दा ती अहिले सार्वजनिक रूपमा उपलब्ध छन् ।

यसरी च्याटजीपीटीको सदुपयोग गर्न खोज्दा संवेदनशील डेटा लिक भएपछि विज्ञहरूले गोपनीयताको सवालमा चासो देखाएका छन् । मानिसहरूले विभिन्न कानुनी कागजात वा मेडिकल कागजातहरू शेयर गरेर त्यसको निष्कर्ष निकाल्न च्याटजीपीटीको प्रयोग गर्छन् । यस्तै अन्य संवेदनशील डेटाको प्रयोग गरी कम्पनीले च्याटजीपीटीलाई थप परिष्कृत बनाएको हुन्छ । च्याटजीपीटीले यसरी व्यक्तिगत जानकारी लिएर गोपनीयताको हनन गरेको भन्दै इटालीले च्याटजीपीटीमाथि प्रतिबन्ध नै लगाएको थियो ।

यसरी कम्पनीका संवेदनशील जानकारी बाहिरिन थालेपछि सामसङले प्रति व्यक्ति अपलोड क्यापासिटी १०२४ बाइटमा सीमित गरेको छ । अहिले पनि कम्पनीको संवेदनशील डेटा लिक भइरहेको विषयमा थप अनुसन्धान भइरहेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिन कम्पनीले आफ्नै च्याटबट निर्माण गर्ने बताएको छ ।

च्याटजीपीटीको 'डेटा पोलिसी'मा प्रयोगकर्ताबाट प्राप्त डेटामार्फत टुललाई थप परिष्कृत बनाउने कुरा उल्लेख गरिएको छ । साथै च्याटजीपीटीको युजेज गाइड गाडइमा कम्पनीले प्रयोगकर्तालाई संवेदनशील सूचना उपलब्ध नगराउन सचेत गराएको छ ।

 

 

पछिल्लो अध्यावधिक: चैत २५, २०७९ ८:१६