काठमाडौं । आफ्नो कोही आत्मीय व्यक्तिको निधन हुँदा पक्कै गाह्रो हुन्छ ? सो व्यक्तिसँग अझै समय बिताउन पाएको भए हुन्थ्यो भन्ने लाग्नसक्छ । अथवा ती व्यक्ति फर्केर आए हुन्थ्याे भन्ने लाग्नसक्छ । तर यो असम्भव छ ।
यद्यपि एक वैज्ञानिक यस्ता छन्, जसले मानिसहरूलाई आफ्ना प्रिय व्यक्तिहरूको र आफ्नो वृद्ध/वृद्धा अभिभावकको भिडिओ/अडियो रेकर्ड गरेर कम्प्युटरमा राख्नका लागि अनुरोध गरिरहेका छन् ।
अमेरिकाको सिलिकन भ्यालीमा स्टार्टअप सुरु गरेका डा. प्रतीक देशाईले यदि मानिसहरूसँग आफ्ना प्रिय व्यक्तिहरूको पर्याप्त भिडिओ र अडियो छ भने उनीहरू कहिले पनि टाढा हुनु नपर्ने दाबी गरेका छन् ।
सन् २०२३ भित्रै उनले एउटा यस्तो प्रविधि सार्वजनिक गर्ने बताएका छन्, जसले मरेका मानिसहरूलाई ज्युँदा मानिससँग नजिक बनाइरहने छ । उनले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, "आफ्ना अभिभावक, वृद्ध/वृद्धा र प्रिय व्यक्तिहरूलाई नियमित रुपमा रेकर्ड गर्न सुरु गर्नुहोस् । पर्याप्त डेटा, आवाज र भिडिओ उपलब्ध भएको खण्डमा मानिसहरू मरेर पनि टाढा नहुने अवस्था आउनेछ । यो वर्षको अन्त्यसम्ममा यो सम्भव हुनसक्छ ।"
Start regularly recording your parents, elders and loved ones. With enough transcript data, new voice synthesis and video models, there is a 100% chance that they will live with you forever after leaving physical body. This should be even possible by end of the year.
हुन त यस क्षेत्रमा दिग्गज व्यक्तित्वले च्याटजीपीटी जस्तो प्रविधिको विकासले एआईको क्षेत्रमा नयाँ स्वर्ण युग सुरु गर्ने अभिव्यक्ति दिदैँ आएका छन् । यस्तोमा एआईको नयाँ स्वरुप बजारमा आउनु कुनै नौलो कुरा भने होइन ।
डा. देशाईले च्याटजीपीटीजस्तै आफ्नै छुट्टै प्रविधि विकास गरेका छन् ।
मरेका मानिसहरूको अवतार बनाएर कम्प्युटरमा अन्तर्क्रिया गर्न सकिने उनको दाबी छ । यो प्रक्रियामा मानिसको फोटो, भिडिओ र अडियोलाई डिजिटलाइज गरिनेछ ।
त्यसपछि सो डेटा एआई प्रणालीमा अपडेट गरिनेछ । उक्त एआईले ती सबै डेटा अध्ययन गरेपछि सो व्यक्तिको अवतार डिजाइन गरिनेछ । मानिसले मरेका मानिसको अवतारको डिजाइन आफैं बनाउन सक्नेछन् ।
उक्त अवतारले ज्युँदो मानिसले जस्तै अन्तर्क्रिया गर्नेछ । यसको अर्थ हो, मरेका मानिसलाई भर्चुअल मानिसको रुपमा राखिनेछ ।