काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको निष्कर्ष निकाल्दै पार्टीबाट निष्काशित गरेको छ ।
आइतबार व्यवसायी प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि छानबिन गर्दा ढाका दोषी रहेको ठहर गर्दै रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पार्टीका सभापति रवि लामिछानेले बताए ।
पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन मंगलबार पार्टी सभापति लामिछानेलाई बुझाएको थियो । यसपछि बुधबार बसेकाे केन्द्रीय समितिकाे बैठकले ढाकाकै अडियाे भएकाे ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
पार्टीले गरेको सोधपुछमा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेपनि अडियो उनकै भएको निचोडमा पार्टी पुगेको लामिछानेले बताए ।
तर श्रेष्ठले भने अडियो गलत भएको र आफू तथा पार्टीलाई फसाउन ल्याइएको भन्दै न्यायालय जाने बताएका छन् । "यो अडियो खास अथेन्टिक होइन । ह्वाट्सएपमा कुरा गरिएको भनिएको छ । मेरा कुराहरू कहाँकहाँबाट जोडिएर अहिले यहाँ मिडियामा आएको छ । योप्रति म खेद प्रकट गर्दछु," पत्रकार सम्मेलन गर्दै उनले भने ।
पार्टीले अनुसन्धानका लागि गरेको निलम्बनलाई स्वागत गरेको बताउँदै उनले भने, ''म हिजैबाट न्यायालय गइसकेको छु । मेरा शुभचिन्तक महानुभावहरू तपाईँहरू निश्चिन्त हुनुहोला, म न्यायालय गएर सम्पूर्ण कुरा प्रष्ट पारेर मेरो क्लिन चिट ल्याएर म फेरि यसरी नै प्रेस मिट गर्नेछु, त्यतिन्जेल धैर्य धारण गर्नुहोला ।''
यसैबीच रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा विन्दबासिनी कंसाकारलाई समानुपातिक तर्फबाट सांसद बनाउने निर्णय गरेको छ ।