close

भोलिदेखि इन्टरनेट र मोबाइलको गुणस्तर सेवाप्रदायक आफैंले जाच्नुपर्ने

टेकपाना टेकपाना

चैत ३०, २०७९ १४:५६

भोलिदेखि इन्टरनेट र मोबाइलको गुणस्तर सेवाप्रदायक आफैंले जाच्नुपर्ने

काठमाडौं । भोलि अर्थात् १ वैशाख २०८० देखि सेवाप्रदायक कम्पनीले नै आफ्नो मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्नुपर्ने भएको छ ।

नियामक प्राधिकरणले निर्धारित न्यूनतम गुणस्तर कायम गर्न नसक्ने सेवाप्रदायकको अनुमतिपत्र खारेजीसम्मको व्यवस्था गर्दै जारी गरेको गुणस्तर सम्बन्धी विनियमावली २०७९ नयाँ वर्षदेखि कार्यान्वयनमा आउन लागेको हो । 

विनियमावलीले आधारभूत दूरसञ्चार सेवा, आधारभूत टेलिफोन सेवा, मोबाइल सेवा, इन्टरनेट तथा डेटा सेवा सञ्चालन गर्दा सेवाप्रदायकले कायम गर्नुपर्ने गुणस्तर निर्धारण गरेको छ । विनियमावली प्रारम्भ भएसँगै दूरसञ्चार सेवा सञ्चालन गर्ने सेवाप्रदायकले  त्यसअनुरूप सेवाको गुणस्तर कायम गर्नुपर्नेछ । 

निर्धारित अवधिमा सेवाको गुणस्तर कायम गर्न नसक्ने भएमा त्यसको आधार, कारण तथा गुणस्तर कायम गर्नको लागि गरेको काम कारबाहीको विवरण र विनियमावली अनुसार सेवाको गुणस्तर कायम गर्न आवश्यक पर्ने अवधि खुलाई प्राधिकरण समक्ष निवेदन दिनुपर्ने विनियमावलीमा उल्लेख छ ।

यसरी प्राप्त निवेदनको व्यहोरा उचित देखिएमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकलाई सेवाको गुणस्तर कायम गर्न थप अवधि दिनेछ । उक्त थप अवधिमा समेत सेवाको गुणस्तर कायम गर्न नसक्ने सेवाप्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा ४७ अनुसार प्राधिकरणले खारेज गर्न सक्ने उल्लेख छ ।

सेवाप्रदायकहरूले विभिन्न स्थानमा आफूले प्रदान गर्ने सेवाको गुणस्तर आफैँले परीक्षण तथा मापन गर्नुपर्ने र त्यसको प्रतिवेदन प्रत्येक तीन महिनामा प्राधिकरणमा बुझाउनु पर्नेछ । विनियमावली अनुसार दूरसञ्चार सेवाको गुणस्तर मापन गर्न आवश्यक पर्ने उपकरणसहित अन्य स्रोतको व्यवस्थासमेत सेवाप्रदायकहरूले नै गर्नुपर्नेछ ।

यतिमात्र नभएर विनियमावली अनुसार गुणस्तर कायम गरे नगरेको तथा सेवाप्रदायकले मापन गरी बुझाएको गुणस्तर मापन प्रतिवेदनको विश्वसनीयताको विषयमा प्राधिकरणले आकस्मिक रूपमा अनुगमन, निरीक्षण, जाँच वा कुनै विशेष प्रकारको परीक्षण वा मापन गर्न तथा गराउन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १५:२७