काठमाडौं । प्रतिनिधिसभा सदस्य निशा डाँगीले नेपालमै उत्पादन भएका विद्युतीय मोटरसाइकलको दर्ता गर्ने व्यवस्था नहुँदा कम्पनीहरू बजारमा जान नसकेको बताएकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै डाँगीले सरकारले स्वदेशी उत्पादनप्रति सहानुभूति नराखेको गुनासो गरिन् ।
''हालसम्म नेपालमा उत्पादन भएका मोटरसाइकल दर्ताबारे नेपालमा कुनै कानुन छैन, जसले गर्दा नेपालमा उत्पादित मोटरसाइकल दर्ता प्रक्रियामा जान सकेका छैनन्,'' प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत रहेकी उनले भनिन् ।
कानूनी रुपमा दर्ता नहुँदा स्वदेशी उत्पादन बजारमा जान नसकेकाे उनले उल्लेख गरिन् । कहिले कानून बदलिएर र कहिले कानून नबनाएर नेपाली उत्पादनलाई रोक्ने प्रयास भइरहेको भन्दै उनले सभामुखमार्फत सरकारकाे ध्यानाकर्षण गराइन् ।
''सरकारले स्वदेशी उत्पादनप्रति अलिकति पनि सहानुभूति राखिदिएको भए 'मेड इन नेपाल' लेखिएका र लेख्न लागिएका उत्पादन खोलामा मिल्काउन पर्दैनथ्यो । यसले गर्दा नेपालमै उत्पादन गर्छु भनेर लागेका उद्यमीहरू हतोत्साहित हुनुपरेको छ,'' उनले भनिन् ।