काठमाडौं । हरि भट्टराई पहिले पुस्तक प्रकाशनकाे व्यवसायमा थिए । उनको ‘सम्झना पब्लिकेसन’ नाम गरेको कम्पनी थियो, जहाँ विशेष गरेर प्लस टुदेखि स्नातकोत्तर तहसम्मका व्यवस्थापन विषयका किताब छापिन्थ्याे ।
उनी स्वयं व्यवस्थापनको विद्यार्थी । त्यसैमाथि व्यापारी । व्यवस्थापन अध्यापन गराउने प्राध्यापकहरूसँग उनको राम्रै सम्बन्ध थियो ।
यसैबीच भट्टराईले गत वर्ष व्यवस्थापन संकायका केही विद्यार्थीमाँझ एउटा सर्वेक्षण गरे । उक्त सर्वेक्षणले ७० देखि ८० प्रतिशत विद्यार्थीलाई परीक्षाभन्दा अगाडि ट्युसन कक्षा आवश्यकता पर्ने देखायो । त्यस्तै हरेक वर्ष बीबीएस र एमबीएसमा ५३ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण हुने देखियो ।
सँगै २२ प्रतिशत विद्यार्थी दक्ष शिक्षक तथा गुणस्तरीय शैक्षिक सामग्रीहरूबाट वञ्चित भएको र ६० देखि ७० प्रतिशत विद्यार्थीको रोजाइमा अध्ययनको माध्यम नेपाली भाषा रहेको उनले पत्ता लगाए ।
त्यसपछि उनले आफ्नो व्यवसायको मोडेल परिवर्तन गर्ने निर्णय गरे । त्यो निर्णय साकार पार्न गत वर्षको असारदेखि लागिपरे । त्यसैको नतिजा स्वरुप नयाँ वर्ष २०८० काे अवसर पारी व्यवस्थापन संकायका विभिन्न विषय अध्यापन गराउन ‘ई विद्या’ नामक एप्लिकेशनमा आधारित लर्निङ प्लेटफर्म सञ्चालनमा आएको छ ।
कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी यो प्लेटफर्म सञ्चालनमा ल्याइएको संस्थापक भट्टराई सुनाउँछन् ।
हुन त यस प्लेटफर्ममा अरु विषय पनि समेटिने छन् । तर अहिले भने व्यवस्थापनका विषयलाई अलि बढी ध्यान दिने उनी बताउँछन् । हाल यस प्लेटफर्ममा एमबीएस, एमबीए, बीबीएस, बीबीए लगायतका कोर्षलाई समेटिएको छ ।
“व्यवस्थापन विषयका किताब प्रकाशन गर्दाका प्राध्यापकहरू नै समूह हुनुहुन्छ,” उनी भन्छन्, “त्यतिबेला किताब छापिन्थ्यो भने अहिले लर्निङ पोर्टल बनाएका छौं ।” ईविद्या आफ्नो प्रकाशन गृहको अपडेटेड भर्सन मात्र भएको बताउँछन् ।
प्लेटफर्मको विशेषता
ईविद्यामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका र कक्षा ११ र १२ को विज्ञान र व्यवस्थापनका विषयमाथि बनाइएका भिडिओ उपलब्ध छन् । विशेष गरेर यस प्लेटफर्ममा रेकर्डेड भिडिओको रूपमा कोर्ष उपलब्ध छन्, जसलाई विद्यार्थीले खरिद गर्नुपर्ने हुन्छ ।
विद्यार्थीले कोर्ष खरिदा गर्दा खल्ती, फोन पे, ई-सेवा, एप्पल पे र बैंक भौचरमार्फत भुक्तानी गर्न सक्छन । यसरी खरिद गरिएका ती भिडिओ अफलाइन अर्थात् इन्टरनेट नभएको समयमा समेत हेर्ने सुविधा छ । त्यस्तै ती भिडिओ हेर्दा विद्यार्थीले कुनै करा बुझेनन् भने प्रश्न सोध्नका लागि चाैबिसै घण्टा विद्यार्थी सहायता कक्ष स्थापना गरिएको छ ।
उनका अनुसार ईविद्यामा अहिलेसम्म ७५ भन्दा बढी विषयका दुई हजारभन्दा बढी भिडिओ उपलब्ध रहेको छ । त्यस्तै त्यो संख्या भविष्यमा बढ्दै जाने उनी बताउँछन् ।
कम्पनीको एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । जुन एक पटक डाउनलोड गर्दा राष्ट्रिय आविष्कार केन्द्रलाई एक रुपैयाँ सहयोग हुने बताइएकाे छ ।
विद्यार्थीका लागि अन्य सुविधा
कम्पनीले पाठ्यक्रममा आधारित भएर भिडियो लेक्चर तयार पारेको छ । विद्यार्थीले सोही रेकर्डेड भिडिओ हेरेर स्वअध्ययन गर्न सक्छन् । तर कम्पनीले विद्यार्थीलाई भिडियो लेक्चरसँग सम्बन्धित पावर पोइन्ट स्लाइड पनि उपलब्ध गराउँछ ।
कोर्ष खरिद गरेका विद्यार्थीलाई कम्पनीले परीक्षा अगाडि फ्रि लाइभक्लास अर्रथात् निःशुल्क प्रत्यक्ष कक्षा उपलब्ध गराउँछ । त्यस्तै विश्वविद्यालयले विगतमा सोधेका प्रश्नपत्रको अभ्यास पनि गराउँछ ।
विद्यार्थीलाई अवसर प्रदान
अहिले नेपाली बजारमा थुप्रै अनलाइन लर्निङ प्लेटफर्म सञ्चालनमा छन् । तीमध्ये धेरैले विद्यालय तह वा अन्य व्यावसायिक तथा व्यक्तित्व विकासका कोर्ष सञ्चालन गर्ने गर्छन् । तर आफूहरूले बजार अध्ययन गरेर यस नयाँ यात्रामा प्रवेश गरेको संस्थापक भट्टराई सुनाउँछन् । घरमै बसेर आफू अनकूलका कोर्ष डिजिटल प्लेटफर्मबाटै अध्ययन गर्न ईविद्या सुरू गरेको उनको भनाइ छ ।
जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप कम्पनीले आफ्नो कोर्ष नि: शुल्क उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले हरेक कलेजको व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ मा धेरै अङ्क हासिल गर्ने ३/३ विद्यार्थीलाई ईविद्यामा भएको स्नातक तहको कोर्ष नि: शुल्क उपलब्ध गराउने भएको छ ।
त्यस्तै स्नातक तहमा पनि प्रत्येक कलेजबाट सर्वोकृष्ट नतिजा ल्याउने ३/३ विद्यार्थीलाई स्नातकोत्तर तहको कोर्षमा कुनै पनि शुल्क नलिने उनले जानकारी दिए ।