काठमाडौं । फोल्डिङ फोनको आकर्षण बढ्ने क्रममा छ । यसैबीच गुगलले पनि आफ्नो फोल्डिङ फोन ल्याउने तयारी गरिरहेको कुरा धेरै समयदेखि चर्चामा छ । अहिले भने सामाजिक सञ्जालमा पिक्सेलको फोल्डिङ मोडलको एउटा भिडिओ चर्चामा छ ।
यो भिडिओ डिभाइसहरूका विषयमा विभिन्न जानकारी बाहिर ल्याउने क्युबा ओजस्केओस्की (Kuba Wojciechowski) ले आफ्नो ट्वीट मार्फत पिक्सेलको फोल्डिङ फोनको भिडिओ सार्वजनिक गरेकी हुन् ।
उनको भिडिओमा 'पिक्सेल फोन हो?' भनेर कमेन्ट गर्नेहरूलाई रिप्लाई गर्दै उनले यो भिडिओ पिक्सेलको फोल्डिङ फोनको मोडलको नै भएको दाबी गरेकी छिन् ।
कम्पनीले यही मे महिनाको १० तारिखमा यो फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । फोनको मूल्य १७०० डलर (करिब २ लाख २२ हजार रुपैयाँ) भन्दा बढी पर्ने अनुमान गरिएको छ ।
फोनमा ५.८ इन्चको बाहिरी डिस्प्ले छ भने फोल्ड खोल्दा यो फोन ७.६ इन्चको डिस्प्ले भएको ट्याब जस्तो देखिन्छ । यसमा गुगल टेन्सर जीटु प्रोसेसर प्रयोग गरिएको छ ।