close

धेरै फलोअर भएका अकाउन्टको ब्लु टिक नि:शुल्क फिर्ता गर्दै ट्वीटर

टेकपाना टेकपाना

बैशाख १३, २०८० १०:१८

धेरै फलोअर भएका अकाउन्टको ब्लु टिक नि:शुल्क फिर्ता गर्दै ट्वीटर

काठमाडौं । ट्वीटरले सेलिब्रेटीको अकाउन्टमा निःशुल्क ब्लु टिक फिर्ता दिन सुरु गरेको छ । यसअघि शुल्क नतिरेको भन्दै हटाइएका अकाउन्टको ब्लु टिक कम्पनीले आफ्नो नीति परिवर्तन गर्दै नि:शुल्क उपलब्ध गराउने भएको हो । 

कम्पनीले १० लाख बढी फलोअर भएका प्रयोगकर्ताको ब्लु टिक फिर्ता गर्ने जनाएकाे छ । तर, शुल्क तिरेर ब्लु टिक पाएका र नि:शुल्क ब्लु टिक पाएका प्रयोगकर्ताबीच कुनै भिन्नता नभएपछि कम्पनीको यो निर्णय विवादित बनेको छ । 

ब्लु टिक भएका प्रयोगकर्ताको अकाउन्टमा उक्त टिक पाउनका लागि सो प्रयोगकर्ताले 'ट्वीटर ब्लु' सब्स्क्राइब गर्नुपर्ने उल्लेख गरिएको छ । ट्वीटरले २० अप्रिलदेखि पुरानो शैलीबाट भेरिफाइड मार्क वितरण गर्ने सेवा बन्द गरेको थियो ।

यसको अर्थ शुल्क नतिर्ने प्रयोगकर्ताले केही गरे पनि ट्वीटर ब्लु पाउन सक्नेछैनन् भनिएको थियो । तर, कम्पनीले आफ्नो नीति परिवर्तन गर्दै १० लाख बढी फलोअर भएका प्रयोगकर्तालाई निःशुल्क भेरिफिकेसन मार्क उपलब्ध गराउने बताएको छ ।

'द गार्जेन'का अनुसार चार लाख बढी लिगेसी भेरिफाइड अकाउन्टमध्ये जम्मा पाँच सय अकाउन्टले मात्र ब्लु टिकका लागि शुल्क तिरेका थिए । 

धेरैले शुल्क तिर्न अस्वीकार गरेपछि कम्पनीले आफ्नो नीति परिवर्तन गरेको गार्जेनले उल्लेख गरेको छ ।

कम्पनीको यो नीतिसँगै १० लाख बढी फलोअर हुने सेलिब्रेटी तथा कम्पनीले ब्लु टिक फिर्ता पाएका छन् । त्यस्तै मृत्यु भइसकेका सेलिब्रेटीको अकाउन्टमा पनि ब्लु टिक फिर्ता आएको पाइएको छ ।

उनीहरूको ह्यान्डल अरू कसैले व्यवस्थापन गरेकाले ब्लु टिक उपलब्ध गराइएको हो वा १० लाख बढी फलोअर भएकाले फिर्ता भएको हो भन्ने चाहिँ स्पष्ट छैन । यसअघि मस्कले केही व्यक्तिलाई आफ्नै शुल्कमा ब्लु टिक खरिद गर्ने घोषणा गरेका थिए ।


 

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १६:४२