काठमाडौं । एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘हेल्थ कोच’ अर्थात् स्वास्थ्य प्रशिक्षक ल्याउने भएको छ । ब्लुमबर्गका अनुसार एप्पलले ‘क्वार्ट्ज’ (Quartz) नामको परियोजनामा काम गरिरहेको छ ।
यसअन्तर्गत एआईले एप्पल वाचबाट प्रयोगकर्ताको डेटा लिएर कुन बेला सुत्ने, कुन बेला कसरत गर्ने, के खाने, मुड कसरी सुधार गर्ने जस्ता सल्लाह दिने बताइएको छ ।
अहिले एप्पल वाचको पछिल्लो भर्सनमा मुटुको धड्कनको मोनिटर, रगतमा भएको अक्सिजनको मात्राको मोनिटर, प्रजनन ट्र्याक, तापक्रम सेन्सर जस्ता फिचर रहेका छन् । एप्पलले समयमा नै निर्माण कार्य सकाए आउँदो वर्ष उक्त सेवा बजारमा आउने बताइएको छ ।
‘हेल्थ कोच’ बाहेक एप्पलले मानवीय संवेदनाहरू ट्र्याक गर्न ‘इमोसन टुल’ समेत विकास गरिरहेको छ । जसमा एआईले प्रयोगकर्ताको बोल्ने शैली, टाइप गरेको शब्द आदिबाट संवेदनाहरूको ट्र्याक गर्ने दाबी गरिएकाे छ ।
यससँगै आफ्नै डिभाइसमार्फत सिधै रक्तचाप र ग्लुकोज स्तर निगरानी गर्ने टुलसमेत एप्पलले विकास गरिरहेको चर्चा छ । यद्यपि अधिकारकर्मीहरूले त्यस्ता उपकरणहरूले व्यक्तिगत गोपनीयता भङ्ग गर्ने चेतावनी दिएका छन् । एप्पलले भने हालसम्म यसबारे कुनै आधिकारिक सूचना उपलब्ध गराएको छैन ।