काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स प्रिन्ट भएपछि उपभोक्तालाई एसएमएस पठाउने प्रणाली पुनः सुचारु गरेको जानकारी दिएको छ । एक सूचना प्रकाशित गर्दै विभागले वैशाख १३ देखि यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
“सवारी चालक अनुमतिपत्र छपाई भएको सम्बन्धी जानकारी एसएमएसमार्फत सम्बन्धित व्यक्तिलाई गराउने कार्य मिति २०८० वैशाख १३ गतेदेखि पुनः सुचारु भएको हुँदा अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा आफ्नो मोबाइल नं. अद्यावधिक गराउनुहुन अनुरोध छ,” विज्ञप्तिमा लेखिएको छ, “साथै आफ्नो सवारीचालक अनुमतिपत्र छपाई भई कार्यालयमा गए/नगएको जानकारी यस विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिनेछ ।”
यसअघि अवरुद्ध भएको प्रणाली सुचारु भएसँगै उपभोक्ताले लाइसेन्स प्रिन्ट हुनासाथ त्यसको जानकारी एसएमएसमार्फत पाउनेछन् ।
यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएकाे छ । यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी लिन सकिन्छ ।
त्यसका लागि तपाईंले सुरुमा यातायात कार्यालयकाे वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटको दायाँ साइडमा रहेको ‘महत्त्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको ‘सवारी चालक अनुमतिपत्र खोजी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस । अथवा यहाँ क्लिक गर्नुहोस् ।
समाचारमा ड्राइभिङ लाइसेन्स प्रिन्ट भएपछि यातायात व्यवस्था विभागले एसएमएस पठाउने उल्लेख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।* -सं.