close

कम आय भएका देशमा ९० प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्दैनन्ः युनिसेफ

टेकपाना टेकपाना

बैशाख १५, २०८० १०:३

कम आय भएका देशमा ९० प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्दैनन्ः युनिसेफ

काठमाडौं । कम आय भएका देशमा ९० प्रतिशत महिलाले इन्टरनेट प्रयोग नगर्ने एक तथ्याङ्कले देखाएको छ । युनिसेफले 'इन्टरनेसनल डे अफ गर्ल्स इन आईसीटी'काे अवसरमा जारी गरेको प्रतिवेदनले उक्त विश्लेषण गरेकाे हाे ।

​उक्त अध्ययन ४१ देशका १५ देखि २४ उमेर समूहका महिला र पुरुषमा ‘जेन्डर डिजिटल डिभाइड’ पत्ता लगाउन गरिएको थियो । प्रतिवेदनले सो उमेर समूहका ५७ करोड पुरुषसँग इन्टरनेट पहुँच हुँदा ६५ करोड महिलासँग भने नभएको देखाएको छ । यो अन्तरले महिलाहरू आर्थिक रूपमा पछाडि पर्ने र गम्भीर जोखिम निम्तिने प्रतिवेदनकाे विश्लेषण छ ।

महिलाहरूलाई सशक्त बनाउन ‘जेन्डर डिजिटल डिभाइड’ अन्त्य गर्न आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ । त्यस्तै महिलाले परम्परागत शिक्षा पाएपनि त्यसले उनीहरूको डिजिटल सीप विकास हुन नसकेकाे उल्लेख गरिएकाे छ ।

अध्ययनले घरमा पुरुषको तुलनामा महिलाले मोबाइल फोन पाउने सम्भावना न्यून हुने देखाएको छ । अध्ययनमा सहभागी १३ प्रतिशतभन्दा कम महिलासँग मात्र मोबाइल फोनको स्वामित्व रहेको पाइएकाे छ ।

त्यस्तै पुरुषहरूको तुलनामा महिलामा फाइल/फोल्डर कपी गर्ने, इमेल पठाउने जस्ता सामान्य सीप ३५ प्रतिशतले कम भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो असमानता हटाउन शैक्षिक र पारिवारिक वातावरण महत्त्वपूर्ण हुने अध्ययनको निष्कर्ष रहेको छ । साथै युनिसेफले सरकार र आफ्ना साझेदारलाई ‘जेन्डर डिजिटल डिभाइड’ अन्त्य गर्न आह्ववान गरेको छ ।

यसका लागि महिला-पुरुष दुवैलाई समान रूपमा डिजिटल सीप सिकाउनुपर्ने, महिलाको अनलाइन सुरक्षा सुनिश्चित गर्नुपर्ने र डिजिटल संसारमा सिकाइ, मेन्टरिङ, इन्टर्नशिप र जागिरमा उनीहरूको पहुँच बढाउनुपर्ने सुझाव दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १०:३