काठमाडौं । उड्ने कार, शरीरमा हुने आर्टिफिसियल अङ्ग, थ्रीडी प्रिन्टेड मासु । यी साइन्स फिक्सन अर्थात् साई-फाई चलचित्रमा हुने दृश्य हुन् । तर अब चाँडै यी वास्तविक संसारमा साकार हुने भएको छ ।
अहिले हरेक महिना नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । नयाँ नयाँ अनुसन्धान भइरहेका छन् । आज हामी सन् २०२३ मा बन्न सक्ने नयाँ प्रविधिबारे जाने जानकारी दिँदै छौं:
थ्रीडी प्रिन्टेड मासु
पछिल्लो समयमा वातावरणलाई लिएर मासुको विकल्प खोजी भइरहेको छ । अहिले केही स्टार्टअपहरूले यसको समाधान गर्ने प्रयत्न गरिरहेका छन् । हेर्दा मासु जस्तै देखिने र स्वाद पनि उस्तै हुने खालको खाद्य सामग्री त्यस्ता स्टार्टअपले विकास गरिरहेको हो ।
रिडिफाइन मिट नामक स्टार्टअपले भटमास तथा मटरमा हुने प्रोटिन र तरकारीका विभिन्न तत्वको मिश्रणबाट त्यस्ता थ्रीडी-प्रिन्टेड स्टिक तयार पारिसकेको छ । यस स्टार्टअपले युरोपमा आफ्नो बजार समेत विस्तार गर्ने तयारी गरिरहेको छ ।
दाग नलाग्ने एन्टिब्याक्टेरियल कपडा
अहिले फेसन लगायत विभिन्न क्षेत्रमा नानोटेक्नोलोजी प्रयोग भइरहेको छ । कपडाको गुणस्तर सुधार गर्न नानोफाइबर वा नोपार्टिकलक विकास गर्ने काम भइरहेको छ । यी कोटिङमा हाइड्रोफोबिक अणु हुने गर्छन् । यसलाई वाइन, कफी, तेल जस्ता कुनै पनि तरल पदार्थले असर गर्दैन । जसले गर्दा यसबाट बनेका कपडामा दाग लाग्दैन । यसका साथै यी कोटिङमा एन्टिब्याक्टोरियल गुण हुने गर्छ ।
उपचार गर्न एआई
अहिले नै स्वास्थ्य क्षेत्रमा एआई प्रयोग भइसकेका छन् । भविष्यमा यस क्षेत्रमा एआईको प्रयोग गर्ने निश्चित छ । आईबीएमको वाटसन हेल्थले बिरामीको अवस्था थाहा पाउन अहिले मसिन लर्निङ प्रयोग गरिरहेको छ । आईबीएमको वाटसन हेल्थलाई एक डक्टरसँग तुलना गरिएको छ । किनकी यस मसिनले डक्टरले जस्तै बिरामीको उपचार गर्ने गर्छ ।
विद्युतीय सवारीको ब्याट्रीमा नयाँ प्रविधि
अहिले विद्युतीय सवारी साधनले बजार निकै लिइरहेको छ । वातावरण सुरक्षाको हिसाबले पनि विद्युतीय सवारी साधन उपयुक्त छ । तर अहिले यसमा प्रयोग हुने ब्याट्रीमा धेरै गुनासाे रहेको छ । तर अहिले अनुसन्धानकर्मीले ब्याट्री सुधार गर्न काम गरिरहेका छन् ।
पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका अनुसन्धानकर्मीले १० मिनेटभन्दा कम समयमा फुल चार्ज गर्ने तरिका विकास गरेको दाबी गरेका छन् । अहिले यो प्रोटोटाइप मात्र हो । तर भविष्यमा विद्युतीय सवारीको ब्याट्रीको समाधान निस्कने भने पक्का छ ।
क्वान्टम इन्टरनेट
जटिल समस्या केही क्षणमा नै समाधान क्वान्टम कम्प्युटर प्रयोग गर्ने गरिन्छ । साधारण कम्प्युटरभन्दा यो धेरै गुणा छिटो हुने गर्छ । यसका लागि क्वान्टम कम्प्युटरले बिट्सको साटो क्यूबिट्स प्रयोग गर्छ । यही कारण क्वान्टम कम्प्युटरबीच सञ्चार गर्न गाह्रो हुने गर्छ ।
तर अनुसन्धानकर्मी यो कुराको समाधान गर्न क्वान्टम इन्टरनेटको विकास गर्न लागिपरेका छन् । फेब्रुअरी २०२२ मा नै क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्मीले क्वान्टम इन्टरनेटको प्रोटोटाइप विकास गरेको दाबी गरिसकेका छन् । यो चाँडै साकार हुने देखिन्छ ।
बालुवाबाट ब्याट्री
जलवायु परिवर्तनको समस्या सम्बोधन गर्न जीवाश्म इन्धनको निर्भरता घटाउन आवश्यक छ । त्यसका लागि नविकरणीय उर्जा बढाउनु पर्छ ।
अहिले यसका लागि धेरै अनुसन्धानकर्मीले काम गरिरहेका छन् । हालै फिनल्याण्डका इन्जिनियरले बालुवाबाट ब्याट्री बनाउन सफल भएका छन् । उनीहरूले पोलार नाइट इनर्जी प्रविधि प्रयोग गरेर बालुवाबाट ब्याट्री बनाएका हुन् ।
लामो समयसम्म तापक्रम भण्डारण गर्न सक्ने बालुवाको विशेषताको फाइदा उठाउँदै उनीहरूले ८ मेगावाटको ब्याट्री निर्माण गरेका हुन् । सो ब्याट्री बनाउँदा लिथियम-आयन ब्याट्री बनाउँदा लाग्ने खर्चभन्दा निकै कम भएको उनीहरूको दाबी छ । अहिले प्रोटोटाइपको रूपमा रहेको यो ब्याट्री भविष्यमा निकै उपयोगी हुने देखिन्छ ।
बायोप्रिन्टिङ गरिएका शरीरका अङ्ग
दुर्घटना, युद्ध लगायतका विभिन्न कारणले शरीरको अंग गुमाएकालाई यस प्रविधिले राहत दिने भएको छ । किनकि बायोसेरामिकलाई प्रयोग गरेर थ्रीडी प्रिन्टिङबाट त्यस्ता अंग पुन: बनाउन सकिन्छ ।
यस प्रकारका उपचार सफल पनि भइसकेका छन् । थ्रीडी प्रिन्टमा काम गर्ने कम्पनी सेरहम (Cerhum) ले क्यान्सरका कारण नाक गुमाएकी एक महिलालाई यस प्रविधि मार्फत उपचार गरेको हो । अहिले यस प्रविधिमा थप सुधार गर्न विभिन्न अनुसन्धान भइरहेको छ ।