close

आर्थिक हिनामिना गर्ने एप्पलका पूर्वकर्मचारीलाई ३ वर्ष जेल, साढे २ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने

टेकपाना टेकपाना

बैशाख १७, २०८० १२:५०

आर्थिक हिनामिना गर्ने एप्पलका पूर्वकर्मचारीलाई ३ वर्ष जेल, साढे २ अर्ब क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । कम्पनीको एक कराेड ७० लाख डलरभन्दा बढी रकम हिनामिना गरेकाे पुष्टि भएपछि एप्पलका पूर्वकर्मचारी कारबाहीमा परेका छन् । भारतीय मूलका धीरेन्द्र प्रसाद नाम गरेका ती पूर्वकर्मचारीले ठूलाे मात्रामा रकम ठगी गरेकाे प्रमाणित भएपछि तीन वर्ष जेल सजाय र अर्बाैं क्षतिपूर्ति दिनुपर्ने भएकाे छ ।

प्रसाद सन् २००८ देखि २०१८ सम्म एप्पलको ग्लोबल सर्भिस सप्लाई चेनमा खरिदकर्ताका रूपमा कार्यरत थिए । उनले सोही पदको दुरुपयोग गरेको र आफ्ना आपराधिक गतिविधि लुकाउन प्रयास गरेको भन्दै संयुक्त राज्य अमेरिकाको न्याय विभागले तीन वर्ष कैद सजाय दिएको हो ।

उनले कम्पनीका लागि भेन्डरहरूबाट पार्टपुर्जा र विभिन्न प्रकारका सेवा खरिद गर्थे । त्यही क्रममा पार्टपुर्जा चाेर्ने, बिलमा रकम बढाउने र किन्दै नकिनेकाे सामन किनेको भन्दै एप्पलको एक कराेड ७० लाख डलरबराबरकाे रकम चोरी गरेकाे बताइएकाे छ ।

यसका लागि उनले दुई भेन्डरसँग मिलेर  काम गर्ने गरेका थिए । ती दुवैलाई एप्पलले छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

तीन वर्ष जेल सजायबाहेक एप्पल र इन्टर्नल रेभेन्यू सर्भिस (आईआरएस) लाई १९ मिलियन डलर (दुई अर्ब ४५ करोड रुपैयाँ बढी) रकम फिर्ता गर्न उनलाई न्याय विभागले आदेश दिएको छ ।

त्यस्तै उनको ५.४ मिलियन डलरभन्दा बढी मूल्यको सम्पत्ति जफत गर्न र थप ८.१ मिलियन डलर नगद भुक्तानी गर्न आदेश दिइएको छ ।

उनलाई मार्च २०२२ मा उक्त अभियोग लगाइएको थियो भने गत वर्ष नोभेम्बरमा एप्पल र कर छलीको मुद्धा दर्ता गरिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० १२:५५