close

अन्नपूर्ण गाउँपालिका वडा नं. २ मा मेट्रिक हाउस नम्बरिङ प्रणाली

टेकपाना टेकपाना

बैशाख २१, २०८० १४:३०

अन्नपूर्ण गाउँपालिका वडा नं. २ मा मेट्रिक हाउस नम्बरिङ प्रणाली

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ को वेब जीआईएस उपयोगिता व्यवस्थापन र मेट्रिक हाउस नम्बरिङ प्रणालीको काम सम्पन्न भएको छ । बुधबार वडा कार्यालय भवनमा एक प्रस्तुतीकरण कार्यक्रममार्फत साे नम्बरिङ प्रणालीकाे काम सम्पन्न भएकाे जानकारी दिइयाे ।

पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा जियोम्याटिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले यस प्रोजेक्ट बनाएका थिए । यस प्रोजेक्टमार्फत वडामा रहेका हरेक घरहरूको नम्बरिङ मेट्रिक प्रणालीमार्फत गरिएको छ । साथै याे प्रणालीबाट वडाभित्र रहेका सडक, खानेपानी, बिजुली लगायतका उपयोगिताको वास्तविक स्थितिकाे जानकारी पनि पाउन सकिने बताइएकाे छ ।

उक्त कार्यको व्यवस्थापन प्रभावकारी रुपमा छिट्टै जनासेवामुखी बनाइने गाउँपालिकाले जनाएको छ ।

इन्जिनियरिङ पढ्ने विद्यार्थीले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने र तत्काल कार्यान्वयन गर्न सकिने यस किसिमका प्रोजेक्ट विकास गर्नु सराहनीय काम भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत  ई. सूर्य तिमल्सिनाले बताए । वेबमा आधारित यस पोर्टललाई आवश्यक प्राविधिक तयारीसहित छिट्टै कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले  प्रोजेक्टको लागि आफ्नो वडा छनोट गरेकोमा वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारीले धन्यवाद दिए ।

यस पाइलट प्रोजेक्टलाई वडाले अपनत्व लिई उपयोगिता कार्यान्वयनमा लैजाने समेत उनले बताए ।

यस प्रोजेक्टले खानेपानी, सडक, बिजुली, इन्टरनेट महसुलजस्ता क्षेत्रमा सहयोग पुग्नेगरी नमूना कार्य थालनी गर्न पाउँदा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खुशी व्यक्त गरे  । 

यो प्रोजेक्ट जियो म्याटिक्स इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरु प्रकाश घर्ती मगर, सुनिल भट्टराई, मनिश अधिकारी, विवेक शर्मा, राजेन्द्रराज पौडेल र प्रविन दासले आफ्नो प्रोजेक्ट वर्कअन्तर्गत विकास गरेका हुन् ।

यस प्रोजेक्टलाई पश्चिमाञ्चल क्याम्पसकै प्राडा. कृष्णप्रसाद भण्डारीले सुपरिवेक्षण गरेका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १४:३७